
मकवानपुरगढी- तेश्रो संस्करण मकवानपुरगढी गाउँपालिका रनिङ्ग सिल्ड प्रतियोगिता अन्तर्गतको सेभेन ए साईड फुटबल खेल यहि चैत्र २८ गतेबाट शुरु हुने भएको छ ।
वडा नम्बर ३ मा रहेको भानु माध्यमिक विद्यालयको भानु मिनि पिच (फुटसल) मा प्रतियोगिताको आयोजना गरिएको छ । गढी स्टार स्पोर्ट्स क्लबले प्रतियोगिताको आयोजना गरेको हो ।
समयतालिका अनुसार चैत्र २७ गते अपरान्ह ४ बजेसम्म सहभागी हुने टिमको दर्ता गरिने र सोही दिन ५ बजे खेल तालिका सार्वजनिक गरिने संयोजक बिदुर हुमागाईले बताए । मकवानपुरगढी गाउँपालिकाको ८ ओटै वडाबाट टिम (समूह) हरु सहभागी हुने अपेक्षा गरिएको छ।
चैत्र २८ गते बिहान खेलको उद्घाटन गरिए सँगै लिग चरणको खेल शुरु गरिने छ । खेलको समापन २०७८ बैशाख १ गते गर्ने तालिका रहेपनी सहभागी समुहको संख्याको आधारमा समापन तालिका हेरफेर हुन सक्ने संयोजक हुमागाईले बताएका छन् ।
खेलको प्रायोजन मकवानपुरगढी गाउँपालिकाले गरेको छ । खेलको मिडिया पार्टनर रेडियो मकवानपुरगढी ९५ मेगाहर्ज तथा शुभ बिहानी डटकम रहेका छन् ।