
मकवानपुरगढी – डढेलोका कारण मकवानपुरगढीका खानेपानी तथा सिंचाइका पाईपमा ठुली क्षती हुन पुगेको छ ।



मंगलबार मकवानपुरगढी २ को सानोगढीबाट शुरुभएको डढेलोले मकवानपुरगढी बृहत खानेपानीको १४० एमएमको करिब १०० मिटर तथा ५० एमएमको करिब १०० मिटर पाइप नष्ट भएको छ । त्यसैगरी प्रथम धवाडी सिंचाइ , माथिल्लो धवाडी सिंचाइ , धवाडी दोश्रो खानेपानी र धरमपानी खानेपानी अन्न्तर्गका ४०० मिटर पाईप नष्ट भएको धवाडी दोश्रो खानेपानी उपभोक्ता समुहका सचिव ईमनाथ तिमल्सिनाले बताएका छन् । भिर र अप्ठ्यारो ठाउँ भएकोले गाउँले मिलि आगो निभाउने प्रयास गर्दा पनि निभाउन नसकिएको तिमल्सिनाले बताए ।

यसैगरी मकवानपुरगढी बृहत खानेपानी योजना अन्तर्गतको भालुन्टार क्षेत्रमा ४० र ३२ एमएमको गरि २०० मिटर र भानु मावी नजिक ६३ एमएमको १५० मिटर पाईप डढेलो कै कारण नष्ट भएको बृहत खानेपानी उपभोक्ता समुहका अध्यक्ष बिष्णु प्रसाद न्यौपानेले बताएका छन् । पाईप नष्ट हुँदा मकवानपुरगढी वडा नम्बर २, ३ र ४ का गरि करिब १५ सय घरपरिवार प्रभावित हुन पुगेका छन् ।

नष्ट भएका ठाउँमा नयाँ पाईप ल्याई मर्मत गर्न समय लाग्ने भएकोले केही दिन पानीको उपलब्धता गराउन नसकिने भएका कारण बैकल्पिक उपाए नहुन्जेल वा मर्मत कार्य अवधीभर पानीको प्रयोग कम गर्न तथा बैकल्पिक उपाए भए त्यसको प्रयोग गर्न आम उपभोक्तालाई बृहत् खानेपानी उपभोक्ता समुहका सचिव कृष्ण प्रसाद पोखरेलले अनुरोध गरेका छन् ।

कतै अन्जानका कारण डढेलो लाग्ने गरेको तथा कतै जानीजानी डढेलो लगाउने प्रवृत्तिका कारण ठूलो नोक्सान भइरहेको छ। डढेलो लगाउनेलाई कुनै कार्वाही नभएका कारण डढेलो लाग्न कमि हुन सकिरहेको छैन ।
डढेलो लगायतका कारण नेपालको काठमाडौं , पोखरा , चितवन तथा हेटौंडा लगायतका शहरहरु वायु प्रदुषणमा विश्व कै अति जोखिमको सुचिमा रहेका छन् ।