
मकवानपुरगढी – तेश्रो संस्करण मकवानपुरगढी गाउँपालिका रनिङ्ग सिल्ड फुटबल प्रतियोगिताको बुधबार (आज) समापन भएको छ । आज भएको फाइनल खेलबाट पुनः रनिङ्ग सिल्ड वडा नम्बर २ कुर्लेमा रहेको सौजन्य युवा क्लबले हात पारेको छ । गत वर्ष भएको खेलमा पनि सौजन्यले नै जित हाँसिल गरेको थियो ।



आज बिहान भएको प्रतियोगिताको फाइनल खेलमा प्रतिभा ‘ए’ लाई पेनाल्टी सुटआउटबाट पराजित गरि सौजन्य ‘ए’ ले जित हाँसिल गरेको थियो । खेलमा सौजन्यका १० नं खेलाडीले पहिलो गोल हानेका थिए भने त्यस लगत्तै प्रतिभाका १० नं कै खेलाडीबाट गोल हानी बराबरी बनाएका थिए । त्यसपछि सौजन्यका ७ नं खेलाडीले गोल हानी अग्रता लिंदा प्रतिभाका ७ नं कै खेलाडीबाट गोल हानी खेललाई बराबरी बनाएका थिए ।
खेल बराबरीमा समय सकिएपछि पेनाल्टी सुटआउटबाट विजेता टोली छानिएको थियो ।

त्यसअघि थर्डप्लेसका लागि वडा नं ५ र गढी स्टार बीच भएको खेलमा आयोजक गढी स्टार स्पोर्ट्स क्लबले ५-३ गोल अन्तरले वडा नं ५ लाई पराजित गरेको थियो ।
प्रतियोगितामा प्रथम भइ सौजन्य ‘ए’ गढी २ कुर्लेले रु ५० हजार सहित रनिङ्गसिल्ड हात पारेको छ । त्यसैगरी प्रतिभा ‘ए’ गढी ४ कालिखोलाले दोश्रो पुरस्कार रु ३५ हजार सहित ट्रफी र तेस्रो पुरस्कार बापत रु २० हजार र ट्रफी लिई आयोजक गढी स्टार स्पोर्ट्स क्लबले चित्त बुझाएको छ । खेलको विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । फाइनल खेलको अन्तिम खेलमा पहिलो गोल हानी सौजन्य का १० नम्बर (मिलन गोले)खेलाडीले रु ३ हजार पुरस्कार हात पारेका छन् । पुरस्कार जि. एस मिडिया प्राली (शुभ बिहानी डटकम) का तर्फबाट अध्यक्ष/प्रबन्धनिर्देशक गोविन्द शर्मा तिमल्सिनाले प्रदान गर्नुभएको थियो ।

यसैक्रममा क. रुद्र पाख्रीन स्मृति पार्कका अध्यक्ष मानकुमारी पाख्रीनले संस्थाको तर्फबाट गढी स्टार र प्रतिभा क्लबलाई ५/५ हजारको चेक हस्तान्तरण गर्नुभएको थियो । खेलका विभिन्न बिधामा उत्कृष्ट खेलाडीहरुलाई युवा ब्यवसायी बिक्रम योन्जन , उत्तम अधिकारी लगायतले रु ३/३ हजार प्रदान गर्नुभएको छ ।

समापनमा एमाले मकवानपुरका नेता बद्रीप्रसाद लम्साल , वडा अध्यक्षहरु वडा नम्बर ३ का भागवत घिमिरे , वडा नम्बर २ का बखान सिं पाख्रीन र वडा नम्बर ४ का रामप्रसाद तिमल्सिना लगायतकाको उपस्थिति रहेको थियो । गढी स्टार स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगिता गत चैत्र २८ गतेबाट शुरु भएको थियो । प्रतियोगिताको मुख्य प्रायोजन मकवानपुरगढी गाउँपालिकाले गरेको थियो भने मिडिया पार्टनरका रुपमा शुभ बिहानी डटकम र रेडियो मकवानपुरगढी रहेका थिए । खेल भानु मावि मिनि पिच (फुटसल) मक्रान्चुलीमा भएको थियो ।