
काठमाडौं । नेपालमा सबै वस्तुको मूल्यवृद्धि भइरहेको समयमा सिमेन्टको मूल्य भने सस्तिएको छ । चर्को प्रतिष्पर्धा र कमजोर मागका कारण अहिले उत्पादन लागतभन्दा कममा सिमेन्ट बिक्री गरिरहेको उद्योगीले बताएका छन् ।


अहिले औसतमा पीपीसी सिमेन्ट ६५० रूपैयाँ र ओपीसी ५५० रुपैयाँ कम्पनी मूल्य रहेको छ । यो अहिलेसम्मकै सबैभन्दा सस्तो कम्पनी मूल्य भएको दावी उत्पादकहरूले गरेका छन् ।
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले न्यूनतम मूल्यमा उद्योगले सिमेन्ट बिक्री गरिरहेको बताए । नेपालमा विकास निर्माणको काम शुरू हुने समयमा सिमेन्टको मूल्य घटेको उनको भनाइ छ ।
थापाले भने, ‘उद्योगले उत्पादन मूल्यभन्दा पनि कममा सिमेन्ट बिक्री गरिरहेका छन् । बजारमा प्रतिस्पर्धा धेरै भएकाले नेपालमा सञ्चालित सिमेन्ट उद्योगमध्ये आधा जतिले आफ्नो उत्पादन मूल्यभन्दा पनि कममा सिमेन्ट बिक्री गरिरहेका छन् ।’
लकडाउनको समयमा धेरै घाटा भएको र अझै त्यो घाटा बढ्ने अवस्था आएकोले कम मूल्यमा बिक्री गरिएको उनले बताए ।
थापाका अनुसार बजारमा करिब ३० अर्ब रूपैयाँ बाँकीमध्ये उद्योगहरूले आउँदो असारसम्म १२ अर्ब जतिमात्र उधारो उठ्ने आंकलन छ ।

थापाले भने ‘पहिले सिमेन्ट उत्पादक कम्पनीहरूले डिलरलाई बिक्री बढाउन उधारोमा नै सिमेन्ट दिए । अहिले त्यही उद्यारो दिएको पैसा कसरी उठाउने भन्ने चिन्तामा छन् । यस आर्थिक वर्षभित्र १२ अर्ब जतिमात्रै पैसा उठ्ने अवस्था रहेको छ ।’
अहिले उद्योगहरूले कम मूल्य तर नगदमा सिमेन्ट बिक्री गर्ने रणनीति लिएको उनको भनाइ छ । लकडाउनको समयमा उद्योगहरूले दैनिक ६५ करोड घाटा खाएको पनि थापाले दावी गरे ।
उद्योग विभागका अनुसार नेपालमा १ सय ३० वटा सिमेन्ट उद्योग दर्ता छन् । तर, हाल ६५ वटामात्रै सञ्चालनमा छन् ।
थापाका अनुसार लोडसेडिङको बेला नेपालमा सिमेन्टको कम्पनी मूल्य सबैभन्दा उच्च थियो । सो समयमा पीपीसी सिमेन्टको ८०० र ओपीसीको ९०० रुपैयाँ कम्पनी मूल्य थियो ।
पछिल्लो समय नेपालमा सिमेन्ट उद्योगको स्थापना गर्ने क्रम बढेको छ । अहिले घाटामा चलेका विभिन्न सिमेन्ट उद्योगले आईपीओ ल्याउने तयारी गरिरहेका छन् ।
नेपालका सबैभन्दा पुरानो सिमेन्ट उद्योग हिमाल सिमन्ट उद्योग हो । वि.सं २०३१ सालमा हिमाल सिमेन्ट उद्योग स्थापना भएको थियो । तर अहिले बन्द भइसकेको छ ।
त्यसपछि २०३२ सालमा हेटौंडा सिमेन्ट र २०४४ सालमा उदयपुर सिमेन्ट उद्योग स्थापना भएको थियो । हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्ट अहिले पनि सञ्चालनमा छन् । नेपालमा सिमेन्ट उद्योगको शुरूआत सरकारले नै गरेको थियो । अहिले दर्ता भएका उद्योगमध्ये १ सय २८ वटा सिमेन्टमा निजी क्षेत्रको लगानी रहेको छ ।
सरकारले सिमेन्ट उद्योगमा लगानी गरेको १९ वर्षपछि मात्रै निजी क्षेत्रले सिमेन्ट उद्योगमा लगानी गर्न सुरु गर्यो । अध्यक्ष थापाका अनुसार नेपालको सिमेन्ट क्षेत्रमा स्वदेशी र विदेशी गरी करिब ३ सय अर्ब लगानी रहेको छ । नेपालीले सिमेन्ट उद्योगमा करिब २ सय २० अर्ब लगानी गरेका छन् । नेपाल प्रेसमा राजाराम न्यौपानेले समाचार लेखेका छन् ।