
एजेन्सी / भारतमा कोरोनाको महामारी दिनदिनै भयावह बन्दै गएको छ । प्रत्येक दिन विश्वमै सबैभन्दा बढी संक्रमित थपिरहेका छन् भने मृत्युदर पनि बढिरहेको छ ।


भारतीय मिडियाका अनुसार पछिल्लो २४ घन्टाभित्र त्यहाँ ३ लाख २० हजार मानिसहरु संक्रमित भने २ हजार ७ सय ६६ जनाको मृत्यु भयो । तीन लाखभन्दा बढी संक्रमित थपिएको यो लगातार छैठौं दिन हो । यसै गरी २ हजारभन्दा बढी मरेको लगातार सातौं दिन हो ।
कोरोनाको महामारी सुरु भएयताकै सबैभन्दा डरलाग्दो आँकडा अप्रिलमा देखिएको छ । त्यसमा पनि पछिल्लो सात दिनको आँकडाले झन् अत्याउँछ । अप्रिल महिनामा अहिलेसम्म ३४ हजार ५ सय ९५ जनाले ज्यान गुमाएकोमा तीमध्ये १७ हजार ३ सय ३३ जनाको मृत्यु पछिल्लो सात दिनमा भएको हो ।
महामारी सुरुभए यता सबैभन्दा बढी मृत्युको रेकर्ड गत वर्षको सेप्टेम्बरमा कायम भएको थियो । तर, त्यसलाई अप्रिलका एक साता बाँकी रहँदै त्यो रेकर्ड तोडिएको छ । यसैगरि, गत मार्च महिनाभन्दा अप्रिलमा ६ गुणा बढीले ज्यान गुमाएका छन् ।
संक्रमितको संख्या पनि अप्रिलमा उच्च दरले बढेको छ । अप्रिलमा हालसमम ५० लाखभन्दा बढी संक्रमित भइसकेका छन् ।