
मकवानपुरगढी- मकवानपुरगढी – ३, मक्रान्चुलीमा रहेको कोभिड १९ अस्थाई अस्पतालमा एण्टिजेन प्रविधि मार्फत कोरोना परिक्षण गरिने भएको छ । गाउँपालिका अध्यक्ष बिदुर हुमागाईको अध्यक्षतामा मकवानपुरगढी गाउँपालिका स्तरीय कोभिड १९ रोकथाम तथा नियन्त्रण समन्वय समितिको मंगलबार (आज) बसेको बैठकले सो निर्णय गरेको हो ।


अस्थाई अस्पतालको आवश्यक भौतिक पुर्वाधारको तैयारी भइसकेको भएपनी आईसोलेसन संचालनका लागि अपुग रहेको बेड, बेड साईड लकर, ट्वाईलेट , बाथरुम , संक्रमितको लागि छुट्टै हात धुने ठाउँ , खानेपानीधारा , औषधि लगायतको ब्यवस्थापन गरि अस्पताललाई १५ सैया क्षमतामा संचालनमा ल्याउने तयारी गरिएको हो । साथै संक्रमित बिरामीले आइसोलेसनमा बस्न चाहेमा वा राख्नुपर्ने आवश्यक देखिएमा बस्नको लागि आवश्यक प्रवन्ध मिलाउने समेत निर्णय गरिएको छ ।
बैठकले गाउँपालिका भित्र संचालनमा रहेका होटल , ब्युटिपार्लर , होमेस्टे लगायत भिडभाड हुने स्थानहरुलाई अर्को सुचना नभएसम्मको लागि बैशाख १५ गते बुधबारदेखि बन्द गराउने समेत निर्णय गरेको छ । गाउँपालिका , २,३,५ र ६ का वडा कार्यालयहरुको प्रवेशद्वारमा मास्क , सेनेटाइजर , ज्वरो मापन गर्ने यन्त्रका साथ १ स्वास्थ्यकर्मी सहित हेल्थ डेस्क राख्ने र ती ठाउँहरुमा हाललाई विद्यालय नर्सलाई खटाउने निर्णय भएको छ । वडा स्तरीय कोभिड १९ नियन्त्रण सम्बन्धि सहजीकरण समिति मार्फत गाउँपालिका स्तरीय समितिको निर्णय कार्यान्वयन गराउने समेत निर्णय भएको छ । साथै गाउँपालिका भित्र स्वास्थ्य सुरक्षा तथा सचेतनामुलक सुचनालाई माईकिङ मार्फत प्रवाह गरिनेछ ।

बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार , बागमती प्रदेश सरकार , जिल्ला समन्वय समिती/जिल्ला प्रशासन कार्यालय मकवानपुरको निर्देशन तथा परिपत्रलाई पालना गर्ने गराउने निर्णय गरेको छ ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी , वडा अध्यक्षहरु , स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछाने , कोभिड १९ अस्थायी अस्पतालका डा. मुकेश साह , भानु माविका अध्यक्ष मानकुमारी पाख्रीन , ईलाका प्रहरी कार्यालय मक्रान्चुलीका प्रमुख जनकराज कार्की , मक्रान्चुली स्वास्थ्य ईकाइ प्रमुख उमेश अधिकारी , पत्रकार गोविन्द शर्मा तिमल्सिना लगायतकाको उपस्थिति रहेको थियो ।

