
मकवानपुर- मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरुको आय-आर्जनमा सहयोग पुग्ने उदेश्यले विगत २० वर्ष पहिला देखि सदस्यहरु बिच संचालन गरिरहेको पाठापाठी साटासाट कार्यक्रम अहिलेसम्म पनि लोकप्रिय बनिरहेको छ ।


संस्थाले ४६ औं पटक शुक्रबार पनि सो कार्यक्रम गरेको छ । शुक्रबार संस्था कार्यालयको प्राङ्गणमा भएको कार्यक्रममा १६ वटा पाठापाठी सदस्यहरुबाट असुली गरि पुनः नयाँ सदस्यलाई लगानी गरिएका छन् । कार्यक्रममा गाउँपालिकाका मत्स्य तथा पशुपंछी शाखाका प्रमुख सत्यनारायण साहले लगानी गरिएका पाठापाठीलाई एन एल जी इन्स्योरेन्स कम्पनी मार्फत बिमा गरि ट्याग लगाउनु भएको छ ।

लगानी गरिएका पाठापाठीलाई नाम्लेजुका र किर्नाको औषधी समेत वितरण गरिएको छ । गाउँपालिकाको मत्स्य तथा पशुपंछी शाखाका तर्फबाट औषधि निशुल्क उपलब्ध भएको संस्थाका अध्यक्ष जानकी दाहालले बताउनुभयो ।