
मकवानपुर- गण्डकीमा पृथ्वीसुब्बा गुरुङलाई पुनः प्रदेशको मुख्यमन्त्रीमा नियुक्तिको तयारी गरिएको छ । बहुमतका लागि दावी पेस गरेका नेपाली कांग्रेसका कृष्ण चन्द्र नेपाली पोखरेलले बहुमत पुष्टि गर्न नसकेपछि ठूलो दलको हैसियतमा एमालेकै सरकार बन्ने भएको हो ।
प्रदेश प्रमुखको कार्यालयमा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङलाई सपथ ग्रहण गराउन लागिएको छ । संविधानको धारा १६८ (३) अनुसार पृथ्वीसुब्बा गुरुङ फेरि मुख्यमन्त्री नियुक्त हुन लागेका हुन् ।
बुधवार अपरान्ह ४ बजेसम्मको समय भित्र कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको पत्र लिएर पोखरेल प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए ।
तर, त्यही बेला जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले आफू तटस्थ रहेको भन्दै आफूलाई दलको नेताबाट हटाइएको कार्यलाई मान्यता नदिन पत्र पठाएका थिए त्यस लगत्तै जनमोर्चाका अकां सांसद खिमविक्रम शाहीले पनि आफू गठबन्धनमा नरहेको वक्तव्य दिएपछि चार दलको समर्थन भनिए पनि बहुमत नपुगेकाले गठबन्धनको दावी अश्वीकृत भएको हो ।