
मकवानपुर- कांग्रेस – माओवादीको गठबन्धनले बहुमत पुर्याउन नसकेपछी पुनः ओलि नै प्रधानमन्त्री नियुक्त हुने भएका छन् । राष्ट्रपति बिद्या देवी भण्डारीले संविधानको धारा ७६(२) बमोजिम नयाँ सरकार गठनका लागि दिएको समय समाप्ति हुनै लाग्दा गठबन्धनले बहुमत जुटाउन नसकेपछि ओलि नै पुनः प्रधानमन्त्री हुने भएका हुन् ।
कांग्रेस – माओवादी गठबन्धनले सिंगो जसपाले समर्थन गर्ने वा एमालेमा माधव पक्षले राजिनामा गर्ने विश्वासका साथ बहुमत पुर्याउन जोडबल गरेको थियो । तर जसपामा महन्थ-राजेन्द्र पक्षले कुनैपनी हालतमा गठबन्धनलाई सहयोग गर्न तयार नभएको तथा एमालेमा माधव पक्षले राजिनामा नदिएका कारण बहुमतको दाबी गर्न गठबन्धनलाई संख्या नपुगेका हो ।
गठबन्धनले बहुमत पुर्याएर प्रधानमन्त्रीमा दाबी पेश गर्न नसकेपछी संविधानको धारा ७६(३) बमोजिम ठूलो दलको संसदीय दलका नेताको हैसियतमा केपी शर्मा ओलिलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने छिन् । त्यसो त केपी शर्मा ओलिले सिंगो एमाले र जसपाको समर्थनमा बहुमत पुर्याएर ७६(२) अनुसारको बहुमतको सरकार गठनका लागि दाबी पेश गर्न सक्ने सम्भावना पनि प्रचुर रहेको छ ।
गत २७ गते प्रधानमन्त्री केपी शर्मा ओलिले विश्वासको मतका लागि बहुमत सांसदको समर्थन नपाएपछी स्वतः सरकार कामचलाउमा परिणत भएको थियो । सोही दिन राष्ट्रपतिले संविधानको धारा ७६(२) बमोजिम बहुमत सहित दाबी पेश गर्न दलहरुलाई ३ दिन (७२ घण्टा) को समयसीमा दिएकी थिइन् । त्यो समय आज राति ९ बजे समाप्त हुँदैछ ।