
सुरेन्द्रमान प्रधान
थाहानगर/ कोभिड-१९ को दोस्रो भेरियन्टबाट थाहानगरमा धेरै संक्रमित हुन थालेपछि सबै बिरामीलाई एम्बुलेन्समा आधा भाडा छुट दिने निर्णय गरेको छ ।
सोमबार कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समिति र एम्बुलेन्स व्यवस्थापन समितिका पदाधिकारीहरुको बैठकले थाहानगरभित्रबाट नगरभित्रकै स्वास्थ्य केन्द्रसम्म ल्याउन लान प्रचलित भाडा दरमा आधा छुट दिने निर्णय गरेको हो । बैठकले आधा भाडा समेत तिर्न नसक्ने बिपन्न परिवारका बिरामीलाई भने वडा कार्यालयको सिफारिसमा पुरै भाडा छुट दिने निर्णय गरेको छ ।
यसैबीच, थाहानगरमा एम्बुलेन्सको अभाव टार्न कोभिड बाहेकका बिरामी बोक्न जिम्मा लगाएको अटोरिक्सालाई जनगुनासो नआउने गरि भाडा लिन निर्देशन दिएको छ । सोमबार नै अटो व्यवसायी संघका पदाधिकारीहरुसङ्ग बसेको बैठकले अटोलाई कोरोनाको बिरामी नबोक्न निर्देशन दिएको छ । कोरोनाको बिरामी बोक्दा संक्रमणको जोखिम बढ्न सक्ने भन्दै कोभिडको बिरामी नबोक्न र अन्य प्रयोजनका लागि अटो संचालन नगर्न अनुरोध गरेको हो । आइतबारसम्म थाहानगरमा २ सय २ जनामा कोरोना संक्रमण भैसकेको छ ।