
सुरेन्द्रमान प्रधान थाहानगर/थाहा नगरपालिका वडा नम्बर ८ मा आज (मङ्गलबार) पनि कोरोना भाइरस संक्रमितको संख्या १८ जना थपिएका छन् । यो सहित ८ नम्बरमा मात्र संक्रमितको संख्या ३२ जना पुगेको छ । हिजो र आज समेत गरि सो वडाबाट ३६ जनाको स्वाव पिसिआरका लागि पठाएकोमा १९ जनाको पोजेटिभ रिपोर्ट आएको हो । त्यसैगरी आजै वडा कार्यालय मै २१ जनाको एन्टिजेन परिक्षण गरिएकोमा १३ जनाको पोजेटिभ रिपोर्ट आएको डा. रिकेश कार्कीले बताए ।
यसैगरी, थाहानगरमा आइसोलेसनमा रहेकाहरुको स्वाव पठाएकोमा मङ्गलबार १ जनाको मात्र रिपोर्ट आएको छ । सो पनि पोजेटिभ नै दोहोरिएको हो । यसैगरी, कन्ट्राक्ट ट्रेसिङमा परेकाहरुको स्वाव पठाएकाहरुमध्ये पिसिआर रिपोर्टबाट ६ जना र प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा १४ जनाको एन्टीजेन परिक्षण गरिएकोमा १३ जना समेत गरि ३२ जना नयाँ संक्रमित थपिएका छन् । वडा नम्बर १ मा २, २ मा २, ३ मा ३, ४ मा ५, ६ मा १ र १० मा १ जना थपिएका छन् । मङ्गलबार मात्रै ३२ जना थपिएका छन् । यो सहित थाहानगरमा संक्रमितको संख्या २ सय ५६ जना पुगेको छ ।
यीमध्ये १२ जना निको भएका छन् । ७ जनाको नगर बाहिर उपचार भैरहेको छ । २ जनाको मृत्यु भएको छभने २ सय ३४ जना होम आइसोलेसनमा छन् भने बज्रबाराहीस्थित आइसोलेसनमा थाहा २ का १ संक्रमित किरिया पुत्री छन् ।
यसैबीच, वडा नम्बर ८ मा कोरोना संक्रमणले भयावह रुप लिन थालेपछि त्यहाँ संचालित बालुवा तथा गिट्टी उद्योगहरु अनिश्चितकालका लागि बन्द गर्न निर्देशन दिएको छ । वडा अध्यक्ष टिकाराम रुम्बाले सुचना जारी गर्दै “भविष्यमा हुन सक्ने भयावहको स्थितिलाई मध्यनजर गर्दै अर्को सुचना जारी नहुन्जेलसम्मलाई” त्यस्ता उद्योग बन्द गर्न निर्देशन दिएको हो ।
यसैगरी, मङ्गलबार बसेको नगर कार्यपलिकाको बैठकले कोरोना संक्रमित भएका बिपन्न परिवारका बिरामीलाई नि:शुल्क औषधि वितरण गर्ने निर्णय गरेको छ । सम्बन्धित वडाध्यक्षको सिफारिसमा औषधि वितरण गर्ने मापदण्ड बनाइएको छ ।