
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनको मार्ग खुल्ला गरेपछि राष्ट्रपतिले उपधारा ५ बमोजिम प्रक्रिया अघि बढाउनु भएको हो ।
राष्ट्रपति कार्यालयले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै भोलि जेठ ७ गते साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न समय दिएको जनाएको छ।
उपधारा ३ बमोजिम प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले विश्वासको मत प्राप्त नहुने देखी मार्ग प्रशस्त गरेकाले अब उपधारा ५ बमोजिम शुक्रबार साँझसम्म वैकल्पिक प्रधानमन्त्रीले बहुमत सदस्यको विश्वास प्राप्त गर्ने आधार पेश गर्नुपर्नेछ ।
प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत पाप्त गर्न सक्ने कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था संविधानको धारा ७६ को उपधारा ५ मा रहेको छ ।
यदि राष्ट्रपतिले दिएको समयभित्र संसदमा रहेका कुनैपनी सदस्यले बहुमतको आधार प्रस्तुत गर्न नसकेमा प्रतिनिधिसभा संवैधानिक रुपमै भंग हुनेछ र केपी ओली कै नेतृत्वमा मुुलुकमा चुनाव घोषणा हुनेछ ।
अहिलेसम्म जसपाको महन्थ ठाकुर पक्ष तटस्थ नै छ र ठाकुर पक्षको माग बमोजिम सरकारले विहीवारमात्रै जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्राप्त गर्ने निर्णय समेत गरेको छ ।
