राज कुमार के.सी.


थाहा / थाहा नगरपालिका वडा नम्बर ७ को कार्यालयले कोरोना संक्रमितलाई प्रति संक्रमित १ किलो चना र १५ ओटा कुखुराको अण्डा उपलब्ध गराउने भएको छ ।
कोरोना संक्रमितको मनोबल उच्च बनाउन र शारीरिक तन्दुरुस्तीका लागि संक्रमितको घरमै गएर चना र अण्डा वितरण गरिने वडा अध्यक्ष सनम सिं मुक्तानले बताउनुभयो ।
यो कार्यको लागि वडामा कुनै बजेट नभएको र वडा अध्यक्षको नगरपालिकाबाट प्राप्त हुने १ महिनाको भत्ता साथै अध्यक्ष लगायत सदस्यहरुको ४ महिनाको बैठक भत्ताबाट चना र अण्डा खरिद गरिने अध्यक्ष मुक्तानले बताउनुभयो ।
थाहा नगरपालिका वडा नम्बर ७ मा हालसम्म ५८ जना कोरोना संक्रमित रहेको वडा सदस्य दिपेन्द्र कुमार थिङले बताउनुभयो ।
संक्रमित मध्ये १ जनाको हेटौंडामा उपचार भइरहेको र बाँकी ५७ जनामा घरमै रहेका छन् ।
साथै कोरोना संक्रमणलाई कम गर्न छिट्टै एक घर एक सेनिटाइजर र एक ब्यक्ति एक मास्कको ब्यवस्था गर्ने अध्यक्ष मुक्तानले बताउनु भयो ।
वडा कार्यलयको कोरोना नियन्त्रण कार्यमा सघाउन थाहा ७ चल्तिका प्रकाश खड्काले ५ हजार रुपैयाँ सहयोग गर्नु भएको छ र यो कार्यको लागि सहयोग गर्न सबैमा अध्यक्ष मुक्तानले आग्रह गर्नुभएको छ ।