

काठमाडौं / प्रधानमन्त्री केपि शर्मा ओलिले मन्त्रीपरिषद बिस्तार गर्नुहुने भएको छ । आज बिस्तार हुने मन्त्रीपरिषदमा जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ । मन्त्रीहरुको सपथ साँझ ६ बजे राखिएको छ ।
जसपा स्रोतका अनुसार नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा जान लागेको हो । जसपाबाट लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, अनिल झा, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, चन्दा चौधरी र एकबाल मिया मन्त्री बन्न लागेको बताइएको छ ।
महतो जसपाबाट सरकारको नेतृत्व गर्दै उपप्रधान तथा शहरी विकास मन्त्री हुनेछन् भने भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । झाले खानेपानी र कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्दा श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र अरगरियालाई वन तथा वातावरण मन्त्रालय परेको छ । यस्तै चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने जसपा श्रोतले वताएको छ ।