
प्रदेश २ सरकारले ६ वटा मन्त्रालय टुक्रयाएर १० वटा मन्त्रालय बनाएको छ।


मंगलबार साँझ बसेको बैठकले १० वटा मन्त्रालय बनाउने निर्णय गरेको हो। पहिलेदेखि नै केही मन्त्रालय टुक्रयाएर १० वटा बनाउने योजना अनुसार नै निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताए।
‘६ वटा मन्त्रालयलाई १०/११ वटा बनाउने हाम्रो पूर्वयोजना नै थियो। त्यसै अनुरुप आजको बैठकबाट १० वटा बनाउने निर्णय भएको हो’ उनले भने। यद्यपी कुन कुन मन्त्रालय फुटाइयो भन्ने विषयमा उनले खुलाएनन्।
प्रदेश सरकारबाट जसपा अध्यक्ष महन्थ ठाकुर पक्षलाई हटाएपछि विपक्षी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सहभागी गराउन मन्त्रालय टुक्रयाएको हो।
कांग्रेस र माओवादीलाई सत्तामा ल्याउन सरकारले विभिन्न चरणमा दुवै पार्टीसँग छलफल तथा वार्ता जारी राखेको छ। तर वार्ता र छलफल जारी रहँदा पनि निष्कर्षविहीन हुने गरेको थियो। कुन मन्त्रालय लिने दिने भन्ने विषय टुंगो लगाउन पहिले मन्त्रालय टुंग्याएर आउन कांग्रेस र माओवादीले सरकारलाई भनेको थियो।
भोलि पुनः दुवै दलबीच सरकारको विषयमा छलफल हुने नेताहरुले बताएका छन्। मन्त्रालयको बाँडफाँडको टुंगो लागे मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद बिस्तार गर्ने तयारी छ। यद्यपि यसमा अझै १।२ दिन लाग्न सक्ने नेताहरुले बताएका छन्।
स्रोतका अनुसार भौतिक मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग तथा पर्यटन र आर्थिक मामिला तथा कानुन मन्त्रालयलाई टुक्राएर दुई–दुई वटा बनाइएको छ। तीन मन्त्रालय कांग्रेस र दुई मन्त्रालय माओवादीलाई दिने गरी सत्तामा साझेदारी गराउने सरकारको तयारी छ। (नेपाल खबरबाट)