

विश्वकप तथा एसियन कप फुटबल छनोटको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ ।
पहिलो हाफको अन्त्यतिर रोहित चन्दले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको नेपाल अष्ट्रेलियासँग ३-० ले पराजित भएको हो ।
यस जितसँगै अष्ट्रेलिया विश्वकप छनोटको तेस्रो चरण र एसियन कपको लागि छनोट भएको छ भने नेपालले एसियन कपको तेस्रो चरणमा पुग्न प्लेअफ खेल्नुपर्नेछ ।
अष्ट्रेलियाले खेलको छैठौं मिनेटमा अग्रता लिएको थियो । अस्ट्रेलियाका कप्तान म्याथ्यु लेकिले हेडरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।
फ्रान कारासिचले ३७ औं मिनेटमा अर्को गोल गर्दै अष्ट्रेलियाको अग्रतालाई दोब्बर पारे ।
खेलको ४४ औं मिनेटमा रोहित चन्दले रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए ।
दोस्रो हाफको ५७ औं मिनेटमा मार्टिन बोएलले सहज गोल गर्दै अष्ट्रेलियालाई ३ गोलले अग्रता दिलाउन योगदान गरे ।
इन्ज्युरी समयमा नेपालका लागि तीन खेलाडीले डेब्यु गरेका थिए । सुरज जिउ ठकुरी, आयुष घलान र कमल थापाले मैदान प्रवेश गर्दै राष्ट्रिय सिनियर टोलीबाट पहिलो खेल खेले ।
यो जित सङ्गै अष्ट्रेलिया ७ खेलमा २१ अंकसहित विश्वकप छनोटको तेस्रो चरण तथा एसियन कपका लागि छनोट भएको छ । नेपाल भने ८ खेलमा ६ अंकसहित चौथो स्थानमा रहयो ।