हेटौँडा / नेकपा एमाले मकवानपुरका जिल्ला कमिटी सचिवालय सदस्य राजु नापितको निधन भएको छ ।
कोरोना संक्रमणका कारण आज (बिहीबार) नेता नापितको निधन भएको हो ।


२०३६ सालदेखि कम्युनिस्ट राजनीतिमा प्रवेश गरेका नापित मकवानपुरको उत्तरी भेगमा नेकपा एमालेलाइ स्थापित गराउन सकृय भुमिका निर्वाह गर्नुभएको थियो ।
नेता नापित हाल नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा थाहानगर इन्चार्जको जिम्मेवारीमा रहेका थिए ।
थाहा नगरपालिका २ पालुङ घर भएका नापितको उपचारको क्रममा काठमाडौंस्थित वीर अस्तपालमा आज दिउँसो सवा १२ बजेतिर निधन भएको हो ।
करिव २ साता अघि कोरोना संक्रमण देखिएपछि घरमै आइसोलेसनमा बसेका नापित स्वासप्रस्वासमा समस्या आएपछि २७ जेठमा काठमाडौं लगिएको थियो ।
नापितको निधनले मकवानपुरको एमालेलाई गम्भिर धक्का पुगेको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताउनु भयो ।
यसैबीच, नेकपा एमाले थाहा नगर कमिटीले एक विज्ञप्ति जारी गरि एमाले नेता नापितको निधनले मकवानपुरको कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षति भएको उल्लेख गरेको छ । नापितको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार पनि गरिएको छ । उनको शरिरलाई एमालेका नेता कृष्णप्रसाद दाहालले पार्टीको झण्डा ओढाएका थिए । मृतक नापितका श्रीमती, एक छोरा र दुई छोरी छन् ।