हेटौडा । भारतमा कोरोना भाइरस महामारीको तेस्रो लहर आगामी अक्टोबरमा आउन सक्ने विज्ञहरुले बताएका छन ।
भारतमा अर्को एक वर्षसम्म कोरोना भाइरसको महामारी स्वास्थ्य खतराका रुपमा रहने समाचार संस्था रोयटर्सका स्वास्थ्य विशेषज्ञहरुले बताएका छन् । तर कोरोना भाइरस महामारीको तेस्रो लहरलाई उचित सावधानी अपनाउन सकेमा नियन्त्रणमा लिन सकिने बताइएको छ । सर्वेक्षणमा सामेल भएका ८५ प्रतिशत विशेषज्ञका अनुसार अर्को लहर अक्टोबरमा आउने छ । तर तीन विशेषज्ञले भने तेस्रो लहर अगस्टको सुरुवात वा सेप्टेम्बरको मध्यतिरै सुरु हुने बताएका छन् । अरु तीन विशेषज्ञले भने कोरोना भाइरस महामारीको तेस्रो लहर आउँदो नोभेम्बरदेखि फेब्रुअरीको बिचमा आउन सक्ने बताएका छन् । अबको कुनै पनि लहर हालको भन्दा बढि नियन्त्रित हुने ७० प्रतिशत विशेषज्ञको भनाई छ । अबको लहर १८ वा त्यो भन्दा कम उमेरका व्यक्तिमा जोखिमपूर्ण हुने झण्डै दुई तिहाई विशेषज्ञको भनाई रहेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । तर १४ विशेषज्ञले भने बालबालिकालाई खतरा नरहेको बताएका छन् । ४० विशेषज्ञहरुले जुन ३ देखि १७ सम्म गरेको सर्वेक्षण अनुसार खोप अभियानका कारण अहिले जारी संक्रमणको दोस्रो लहरमा केही कमि आएको छ ।
यसैबीच, भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्यामा कमी हुँदै आएको छ । पछिल्लो केही दिनदेखि दैनिक संक्रमितको संख्यामा निरन्तर कमी हुँदै आएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । मन्त्रालयका अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६० हजार ७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ हजार ६ सय ४७ जनाको कोरोना संक्रमितको मृत्यु भएकोे छ भने ९७ हजार ७४३ जना कोरोना मुक्त भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । भारतमा हाल ७ लाख ६० हजार १९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन ।०००