हेटौडा । पहिरोले थुनिएको तामाकोसी नदीको सहायक रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन भएको छ ।
गएराति चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले रोङसी खोला थुनिएको हो । पहिरोले थुनिएको खोला ताल बनेर बसेको छ । ताल बनेर बसेको रोङ्सीलाई खुलाउन चिनियाँ पक्ष आज उक्त क्षेत्रमा पुगेको दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव पाठकले जानकारी दिनुभयो ।


पहिरोले थुनिएको रोङ्सी खोला ओभरफ्लो भएर बग्न थालेकोले खोला खुलाउन प्रयास भइरहेको उहाँले बताउनुभयो । धेरै ठूलो ताल बनेकाले सावधानी अपनाएर ताल फुटाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । नेपालतर्फबाट उक्त क्षेत्र जान असम्भव भएकाले चिनियाँ टोली खोला थुनिएको क्षेत्रमा पुगेको हो । रोङ्सी खोला सामान्य अवस्थामा आउन समय लाग्ने भएकाले जोखिम कायमै रहेको उहाँको भनाई छ ।
उक्त खोलाबाट बाढी आउन सक्ने आकंलन गर्दै माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको जलाशय समेत खाली गराइएको छ । रोङ्सीखोलामा बनेको ताल फुटेर कुनैपनि बेला तामाकोसी नदिमा बाढी आउन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जाने समयका लागि माथिल्लो तामाकोसी नलविद्युत आयोजनाको जलाशयको पानी खाली गरिएको आयोजनाले जनाएको छ ।
खाली गराइएको जलाशयले कम्तीमा डेढ घण्टासम्म जस्तोसुकै बाढी आएपनि थेग्न सक्ने बताइएको छ । उक्त समयमा तल्लो क्षेत्रका स्थानीयले सुरक्षित स्थानमा जाने मौका पाउनेछन् । अहिले पनि सिन्धुपाल्चोक तथा चीनको सीमा क्षेत्रमा वर्षा भइरहेको बताइएको छ ।