हेटौडा । लगातारको बर्षा पछि आएको पहिरोले मनाङको चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिएको छ । वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।


अहिले पनि उक्त क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । चामेबजार जाने ठूलो पुल नजीक पहिरो खस्दा मस्र्याङ्दी नदी थुनिएको हो । नदी थुनिँदा पानीको सतह झन्झन् बढ्दै गएको छ, जोखिम झनै बढेको छ ।चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको हो ।माथिबाट झरेको पहिरो ढुङ्गामाटो र काठदाउराले मर्स्याङ्दी नदी थुनिँदा पानी जमेर ठूलो ड्याम बनेको छ । थुनिएको भागबाट मर्स्याङ्दी बगे पनि पानी निरन्तर परिरहेकाले बहाव बढेको छ । यसबाट चामेको पारिपट्टिको भाग डुबानमा छ । सिङ्गो चामेबजार जोखिममा परेको छ । बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एकमात्र बेलीब्रिजसमेत कटान गरेको छ । नदीमा बाढी बढ्दै गएकाले चामेबजार उच्च जोखिममा परेको छ ।
नेपाली सेनामार्फत बम विस्फोट गराई मस्र्याङ्दी खुलाउने प्रयास भएपनि निरन्तर पानि परिरहेकाले समस्या भएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन भनिएको उनले जानकारी दिए ।
अहिले मनाङका स्थानीय हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जान थालेका छन् । यही असार १ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिराले गाउँमा सुरक्षित नभएपछि सुरक्षित स्थानमा हिँडेका हुन् । हालसम्म पनि वर्षा र जोखिम कायम रहेपछि मनाङेहरु लमजुङ, काठमाडौँ, पोखरातर्फ आउन थालेका हुन् ।