
मकवानपुरगढी- कोभिडको दोश्रो लहरबाट मकवानपुरगढीमा संक्रमण दर घटेको छ । लगातार गएको ३ दिनसम्म संक्रमण हुनेको संख्या सुन्ना नै रहेकोमा चौथो दिनमा भने २ जना संक्रमित थपिएका छन् । थपिने दुवैजना महिला भएको र संक्रमित हुनेमा वडा नम्बर ३ र ५ का १-१ जना महिला रहेको र उनीहरुको मकवानपुरगढीमा गरिएको एन्टिजेन विधि मार्फत संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो ।
कोरोनाको दोस्रो लहरबाट मकवानपुरगढीमा हालसम्म संक्रमित हुनेको संख्या २३७ पुगेको छ भने २१४ जना १४ दिन पार गरि संक्रमण मुक्त भएका छन् ।
आजको रेकर्ड सँगै मकवानपुरगढीमा कोभिड १९ को दोस्रो लहरबाट अहिलेसम्ममा सक्रिय संक्रमित २३ जना रहेका र ती मध्ये १९ जना होमआईसोलेशन र ३ जना मक्रान्चुलीमा रहेको कोभिड अस्थायी अस्पतालको आइसोलेशन सेन्टरमा तथा हेटौंडा सिटि अस्पतालमा १ जना महिला उपचाररत रहेको स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताउनुभयो ।
कोभिडको दोश्रो लहरबाट मकवानपुरगढीका अहिलेसम्ममा २ जना महिला र ३ जना पुरुष गरि ५ जनाले कोभिड कै कारण अकालमा ज्यान गुमाउनु परेको लामिछानेले जानकारी दिनुभएको छ ।
