हेटौंडा / मदन भण्डारी फाउण्डेसन मकवानपुरले जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
आइतबार हेटौंडामा भएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् ।
हेटौंडाका विभिन्न अस्पतालमा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्रसङ्गको समन्वयमा कार्यक्रमको आयोजना गरिएको मदन भण्डारी फाउन्डेसन मकवानपुर सहसचिब एवं कार्यक्रम संयोजक शिबहरि दाहालले जानकारी दिनुभयो ।
मदन भण्डारी फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवम् फाउण्डेशनका केन्द्रिय सदस्य डोरमणि पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि पाैडेलले अध्यक्ष खुलाललाइ ब्लड व्याग हस्तान्तरण गरेर कार्यक्रम उदघाटन गर्नु भएकाे थियाे ।
फाउण्डेशनले जननेता मदन भण्डारीको ७१औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर साताव्यापी रुपमा मनाउँदै छ । जस अन्तरगत पहिलो दिन आज रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
नेकपा (एमाले) का तत्कालीन महासचिव भण्डारीको आउदो असार १४ गते पर्ने जन्मदिनका अवसरमा फाउण्डेशनले भोली असार १३ गते मकवानपुर बहुमुखी क्याम्पसमा “मैले चिनेको मदन भण्डारी” शीर्षकमा वक्तृत्वकला प्रतियोगिता र १४ गते हेटौंडा–११, स्थित शहिद स्मारकमा मदन भण्डारीको प्रतिमामा माल्यापर्ण र हेटौंडा–९, स्थित दिव्य वाल उद्यानमा बृक्षारोपण कार्यक्रम आयोजना गर्ने कार्यक्रम रहेको फाउण्डेशनका अध्यक्ष खुलालले बताउनुभयो ।
कार्यक्रममा फाउणडेशनका प्रदेश कमिटी सदस्य तथा बागमती प्रदेशकी पूर्व राज्यमन्त्री जुनेलीमाया श्रेष्ठ, हेटाैंडा–४ का वडा अध्यक्ष नविन सिग्देल,५ का वडा अध्यक्ष सुशिल घिमिरे, १० का अध्यक्ष फुर्वा लामा, १५ का सुनिल माेक्तान, रक्तदान कार्यक्रमका समन्वयकर्ता धर्म बस्नेत तथा सानू लामा लगायत फाउन्डेसनका जिल्ला पदाधिकारी तथा सदस्यहरूकाे उपस्थिती थियाे ।