२१ साउन,मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा डिजिटल कृषि सूचना परामर्श सेवा केन्द्रको स्थापना भएको छ । कृषि विकास बैंक बागमती प्रदेश कार्यालय बिरेन्द्रनगर चितवनको सहयोगमा केन्द्रको स्थापना भएको हो ।
शुक्रबार बैंकका निर्देशक श्री रघुनाथ न्यौपानेले डिजिटल कृषि सूचना परामर्श सेवा केन्द्र स्थापनार्थ केयोस मेशिन गाउँपालिकाका अध्यक्ष श्री दोर्जे लामा स्याङ्गतानलाई हस्तान्तरण गर्नुभएको छ ।
सेवा केन्द्र स्थापना सँगै एक वर्षसम्म प्राविधिक सहजीकरणका लागि जियो कृषि र मकवानपुरगढी गाउँपालिका सँग सम्झौता पत्रमा हस्ताक्षर गरि प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी र जियोकृषिका प्रतिनिधि सन्दिप देवकोटा वीच एकआपसमा सम्झौता पत्र आदान प्रादान भयो । यो कार्यक्रम संचालनको फोकल पर्सनको रुपमा कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीलाई जिम्मेवारी तोकिएको छ ।
यस सेवाकेन्द्रले विशेषत युवा कृषकहरुमाझ कृषि सम्बन्धीका प्राविधिक परामर्श सेवा र सूचना प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिईएको छ । यसमा कृषकहरुले आफ्नो खेतिपाती तथा पशुपालन सम्बन्धिको विवरण राखेपछि गाउँपालिकामा त्यसको विवरण डिजिटल माध्यमबाट हेर्न पाउनेछन् । साथै कृषकहरुको खेतबारी एवम् पशुपालनमा देखिएका समस्याहरु फोटो अथवा आवाज रेकर्ड गरेर पठाएपछि विज्ञबाट आवश्यक सल्लाह सुझाव म्यासेजको रुपमा कृषकहरुले प्राप्त गर्न सक्ने कृषि शाखा प्रमुख चौधरीले बताउनुभयो ।
सेवाकेन्द्र मार्फत कृषकहरुले खेती प्रविधि, पशुपालन, रोगकिरा व्यवस्थापन, मलखाद प्रयोग तथा मौसम सम्बन्धीको जानकारी घरमै बसी मोवाइल प्रयोग गरेर हेर्न सकिनेछ ।
कार्यक्रममा कृषि विकास बैंक बागमती प्रदेश कार्यालयका बरिष्ठ शाखा प्रबन्धक नुर प्रसाद गौतम, कान्तिराजपथ शाखाका प्रबन्धक ध्रुब प्रसाद पौडल, भ्यालुचेन सहजकर्ता ईश्वरराज पन्त, वडा नं.५ का वडाध्यक्ष एवम् प्रवक्ता दिपेश दाहाल, मनकामना दुग्ध सहकारीका अध्यक्ष अर्जुन प्रसाद दाहाल, गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरु र अगुवा कृषकहरुको उपस्थिति रहेको थियो ।
सम्वन्धित समाचार
Add A Comment