अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अफ्रिका च्याप्टरद्वारा प्रकाशित पहिलो नेपाली साहित्यिक प्रकाशन ‘किलिमन्जारो’ बिहीबार प्रज्ञा भवनमा आयोजित एक कार्यक्रमबीच लोकार्पण गरियो।


नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव एवम् वरिष्ठ साहित्य तथा सङ्गीत साधक गणेश रसिक, वर्तमान सदस्य सचिव श्याम तमोट, कवि श्रवण मुकारुङ, फ्रान्सका लागि पूर्व नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठ, वरिष्ठ सङ्गीतकार दीपक जंगम लगायतका अतिथिहरूले उक्त पुस्तकको लोकार्पण गरेका हुन्।
उक्त अवसरमा इजरायलमा बस्ने कवि सिन्धु पौडेललको कविताकृति ‘मृतसागरको उचाइबाट’ पनि लोकार्पण गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि रसिकले अफ्रिकामा विभिन्न कामका सन्दर्भमा बस्ने नेपाली स्रष्टाहरूका लेखरचना संकलन गरी प्रकाशित भएको ‘किलिमन्जारो’ले नेपाली साहित्यलाई अफ्रिका महादेशमा फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गरे।
अनेसास अफ्रिका च्याप्टरका अध्यक्ष गणेश खड्काको सभापतित्वमा आयोजना भएको कार्यक्रममा एनआरएनए भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका संयोजक हिक्मत थापा, साहित्य पोष्टका प्रधान सम्पादक अश्विनी कोइराला, अनेसासका केन्द्रीय उपाध्यक्ष डा। रेणुका सोलु, रमेश पौडेल लगायतले बोलेका थिए। कार्यक्रमको सहजीकरण एलिसा ढुङ्गानाले गरेकी थिइन्।
गणेश खड्काद्वारा सम्पादित साहित्यिक सँगालोमा विभिन्न लेखकका नियात्रा, यात्रा संस्मरण, अनुभूति, अनुभव, कविता, गीत र गजल समाविष्ट छन्।