आइतबार प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ। गत साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले घोषणा गरेबमोजिम आइतबार आमनिर्वाचन हुन लागेको हो।


बिहान ७ देखि बेलुकी ५ बजेसम्म हुने मतदानबाट २७५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन्। १६५ जना पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्।
निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ६१ र समानुपातिकतर्फ ४७ राजनीतिक दल भाग लिँदै छन्। प्रतिनिधि सभाको प्रत्यक्षतर्फ दुई हजार १८७ पुरुष र २२५ जना महिला गरी दुई हजार ४१२ उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन्।
समानुपातिकतर्फ दुई हजार १९९ जना उम्मेदवार छन्। जसमा महिला उम्मेदवारको संख्या एक हजार २०० छ। प्रदेश सभाअन्तर्गत सातवटै प्रदेशमा तीन हजार २२४ जना प्रत्यक्षतर्फ र तीन हजार ७०८ जना समानुपातिकतर्फ उम्मेदवार छन्। यसरी देशैभर प्रत्यक्षतर्फ पाँच हजार ६३६ र समानुपातिकतर्फ पाँच हजार ९०७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता मतदान गर्न योग्य छन्। ८८ लाख ४७ हजार ५७९ जना महिला तथा ९१ लाख ४० हजार ८०६ पुरुष र १८५ जना अन्य समूहका मतदाता छन्। आयोगका अनुसार मतदानका लागि १० हजार ८९२ मतदान स्थल र २२ हजार २२७ मतदान केन्द्र तोकिएको छ।