१० मंसिर,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३,मक्रान्चुलीमा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभा आज शनिबार सम्पन्न भएको छ।
मकवानपुरगढी गाउँपालिकाकि उपाध्यक्ष मानकुमारी पाख्रीन (नेपाली) को प्रमुख आतिथ्यता तथा संस्थाकी अध्यक्ष जानकी दाहालको सभाध्यक्षतामा सभा सम्पन्न भएको हो ।
सभामा बोल्दै प्रमुख अतिथि एवम् गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रीनले महिलाहरुले चलाएको सहकारी अन्य सहकारीहरुको तुलनामा बढी अनुशासित र पारदर्शिता हुने गरेको भन्दै त्यो नै महिला सहकारीको लागी अमुल्य सम्पत्ति भएको धारणा ब्यक्त व्यक्त गर्नुभयो ।
सहकारीले गरिरहेका केही कामहरु उदाहरणीय रहेको र त्यसलाई अझै ब्यवस्थीत गर्न गाउँपालिकाबाट आवश्यक सहयोग हुने बताउनुभयो । सहकारी बाट उत्पादित शुद्ध बेसार लाई बजारिकरण गर्नुपर्ने भन्दै अहिले पनि उपभोक्ताहरुले मिसावट गरिएको बेसार खान बाध्य भइरहेको बताउनुभयो । बेसार ब्यवसायलाई ब्यवस्थीत गर्न सके संस्थाका सदस्यहरुबाट उत्पादन भएको बेसार खरिद गरि उपभोक्तालाई शुद्ध बेसार उपलब्ध गराउन सकिने धारणा राख्नुभयो ।
घरधन्दाको अलावा मकवानपुरगढीमा बसोबास गर्ने महिलाहरूले उदाहरणीय रुपमा विभिन्न पेशा ब्यवसायमा उत्कृष्ट काम गरिरहेको भन्दै गाउँपालिकाको तर्फबाट ती सबै विषयवस्तु समेटिने गरि एउटा डकुमेन्ट्री (वृतचित्र) निर्माण गरिने आफुले योजना बनाएको भन्दै आगामी वर्षको वार्षिक योजनामा संलग्न गरिने बताउनु भएको छ ।
सभामा विशेष अतिथि एवम् वडा नं ३ का वडाध्यक्ष भागवत घिमिरेले वित्तीय कारोवारका लागि बैंकको तुलनामा सहकारीहरु सजिलो रहेको भन्दै सदस्यहरुको न्युनतम आवश्यकता पूरा गर्न सहकारीको अहम भुमिका रहेको बताउनुभयो । सहकारीहरु नाफामुखी भन्दा पनि सेवामुखी हुनुपर्ने धारणा राख्दै यो सहकारीले सदस्यहरु प्रती गरिरहेको सेवामा कुनै गुनासो नसुनिएको भन्दै आगामी दिनमा अझै उत्पादन मुखी कार्य गर्नुपर्ने धारणा राख्नुभयो ।
संस्थाले सदस्यहरुका बिच विगत १५ वर्ष देखि पाठापाठी लगानी-असुली (साटासाट) गरिरहेको छ । संस्थाले सदस्यहरूलाई विभिन्न तिर्थस्थल लगायत अवलोकन भ्रमण गराउने गरिरहेको संस्थाकी अध्यक्ष जानकी दाहालले बताउनुभयो । सदस्यहरुको सुविधाको लागि संस्थाले सहुलियत मुल्यमा रासायनिक मलको उपलब्धता गराईरहेको भन्दै अध्यक्ष दाहालले सदस्यहरुको आवश्यकता अनुसार मल उपलब्ध गराउन नसकिएकोमा सरकार दोषी रहेको बताउनुभयो । वडा पिच्छे स्वास्थ्य चौकी रहेता पनि अझै कति महिलाहरु विभिन्न रोगबाट ग्रसित रहेको र रोग लुकाईरहेका छन् त्यसैलाई मध्यनजर गर्दै स्वास्थ्य शिविर संचालन गरिने संस्थाले योजना बनाएको अध्यक्ष दाहालले बताउनुभयो ।
साधारणसभाको अवसरमा संस्थाले विभिन्न बिधामा सदस्यहरूलाई सम्मान तथा पुरस्कार समेत वितरण गरेको छ ।
संस्थाले यो वर्ष ४ करोड ५४ लाख ५४ हजार आठसय सत्तरी रुपैयाँको कारोबार गरेको छ । संस्थाको शेयर पुँजी २६ लाख ७४ हजार सातसय रहेको छ भने जगेडा तथा अन्य कोषमा ४० लाख ९७ हजार रहेको छ । बचत निक्षेपमा ३ करोड ३० लाख ४४ हजार जम्मा हुँदा संस्थाले सदस्यहरुलाई ४ करोड १८ लाख ९४ हजार लगानी गरेको संस्थाकी ब्यवस्थापक सुभद्रा घिमिरेले जानकारी दिनुभएको छ ।
कार्यक्रममा वडा नं १ र २ का वडा अध्यक्षहरु आइतसिं लो र बखानसिं पाख्रीन , गाउँपालिकाकी जेष्ठनागरिक महिला तथा बालबालिका शाखा प्रमुख मन्दिरा थापा , जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने , नबिल बैंक मकवानपुरगढी शाखा प्रमुख पुष्पराम महतो , मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुनप्रसाद दाहाल , सिर्जनशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिडारी , संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकार निर्मला लम्साल र भीमकुमारी न्यौपाने , जागरण बचत तथा ऋण सहकारी संस्थाका सचिव सरिता बराईली , रानी सामुदायिक वन उपभोक्ता समुहका शत्रुघन दुलाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमका अतिथिहरुलाई संस्थाले ‘मायाको चिनो’ बापत संस्था मै उत्पादित शुद्ध बेसार उपहार दिएको छ ।