हेटौंडा – मदन भण्डारी विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा एक सय वर्षको एक वृद्धामा हिमीआर्थोप्लाष्टीको शल्यक्रिया सफल रुपमा गरिएको छ। बारा जितपुरसिमरा उपमहानगरपालिका –१४ का एक सय वर्षिय बालकृष्ण जमरकटेलको हिमीआर्थोप्लाष्टी अर्थात हिपको जोर्नीको शल्यक्रिया सफल भएको हो।
हेटौंडा अस्पतालका डा. रविराज देवकोटा, डा.आषुतोस दाश र डा.कृष्ण कँडेल सहितको १२ जनाको टोलीले प्रोक्सिमल फेमोरल नेल(पीएफ) नेल राखेर दायाँतर्फको हिप जोर्नीको शल्यक्रिया गरेको थियो।
एक सय वर्षको वृद्धको हामीले उच्च सावधानी अपनाएर उहाँको शल्यक्रिया सफल रुपमा गरेका छौ,’ चिकित्सक देवकोटाले भने,’वृद्ध अवस्था भएका यस्तो खालको विरामीको शल्यक्रिया निकै कम गरिन्छ।’ उनका अनुसार चिकित्सकहरुले वृद्ध, सुगर, प्रेशर, मुटु, दिर्घरोग भएका विरामीलाई शल्यक्रिया गर्न सुझाव नै दिदैनन्।
वीरगञ्ज पाएक पर्ने भएपनि आफ्नो बाबुको उपचारका लागि हेटौंडा अस्पताल ल्याएका बालकृष्णका छोरा राजेन्द्र जमरकटेलले शल्यक्रिया सफल भएपछि खुशि व्यक्त गरेका छन् । उनले उपचारमा संलग्न चिकित्सकहरुलाई धन्यवाद पनि दिएका छन् ।
हेटौंडा अस्पतालले नयाँ भवनबाट आफ्नो सेवालाई विस्तार गर्दै प्रभावकारी र गुणस्तरीय बनाउँदै लगेको छ ।आईतबार यहि आइतबारबाट सिटी स्क्यान सेवा सुरु गरेको अस्पतालले यसअघि पहिलो पटक टाउकोको सफल शल्यक्रिया पनि गरेको थियो ।-praharkhabar