४ पौष,मक्रान्चुली- साबिक मकवानपुरगढीमा खानेपानी समस्याको दीर्घकालीन समाधानको लागी बुढिचौर खोलाको पानी ल्याउन प्रारम्भिक अध्ययन शुरु गरिएको छ ।
साबिक मकवानपुरगढी गाविसको वडा नं ३ देखि वडा नं ९ हालको मकवानपुरगढी गाउँपालिकाको वडा नं २-४ मा संचालनमा रहेको बृहत खानेपानी योजनामा पानीको अपुग भएपछि थप मुहानको खोजी भएको हो । हालको वडा नं २ मा रहेको धवाडी खोल्सीको पानीलाई बृहत खानेपानी योजनाको मुहानको रूपमा प्रयोग गरिएको छ ।
पछिल्लो समय मुहानको माथिल्लो भागमा बस्ती विकास बढ्दै जाँदा मुहानको पानी घट्दै गएको तथा बि.सं. २०५३ साल ताका निर्माण गरिएका खानेपानीका पाईप लगायत भौतिक संरचना पुरानो भई जिर्ण हुँदै गएकाले पानी आपूर्तिको क्षमता कम हुँदै गएको छ । त्यसो त पछिल्लो समय वडा नं २,३ र ४ मा बजारीकरण तर्फ उन्मुख हुँदै गरेको तथा ब्यवसायिक पशुपालन समेत बढेकाले पानीको अभाव बढ्दो छ ।
त्यसो त यहाँ खानेपानी आपूर्तिका लागि लिफ्ट सिस्टमका विभिन्न योजनाहरु पनि संचालनमा रहेका छन् । वडा नं ३ मा रहेको देविडाँडा खानेपानी योजना , जागृती खानेपानी , टावरडाँडा खानेपानी तथा वडा नं ४ मा रहेको तिनधारा खानेपानी (धरमचुली) , बुर्जाडाँडा खानेपानी लगायतका योजनाहरु लिफ्ट सिस्टमबाट संचालनमा रहेका छन् । बिजुलीको सहज आपूर्तिमा समस्या हुँदा तथा लामो दुरीमा तलको पानी माथि डाँडा लिफ्टिङ गर्दा बेला बेलामा पाईप फुट्ने समस्या हुने कारण ती योजना संचालनमा त्यती सहज छैन भने आर्थिक हिसाबले समेत केही महंगो छ ।
बगेर आउने पानीमा लागत कम पर्ने तथा सहज आपूर्ति हुने भएको हुँदा त्यस तर्फ पहल गर्न स्थानीय उपभोक्ताहरुले जनप्रतिनिधिहरु समक्ष सुझाव समेत राख्ने गरेका छन् । सोही अनुसार खानेपानीको दीर्घकालीन समस्या समाधानको लागि सोमबार मकवानपुरगढीका जनप्रतिनिधि एवम् बृहत खानेपानी उपभोक्ता समुहका प्रतिनिधिहरुले वडा नं ८ मा रहेकोे बुढिचौर खोलामा पुगि प्रारम्भिक अध्ययन गरेका छन् ।
बिदुर हुमागाँईको नेतृत्वमा रहेको गाउँपालिकाको यस अघिको स्थानीय सरकाले केन्द्रिय सरकारसँग योजना माग गरेको थियो । संघीय सरकारले यस योजनाका लागि १६ करोड विनियोजन गरेको वडा नं ३ का वडा अध्यक्ष भागवत घिमिरेले बताएका छन् । जस अनुसार यस योजना सम्पन्न गर्नको लागि कृष्ण प्रसाद पोखरेलको अध्यक्षतामा समिति समेत बनिसकेको छ ।
गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान , उपाध्यक्ष मान कुमारी पाख्रीन (नेपाली), वडा नं २ का वडा अध्यक्ष बखानसिं पाख्रीन , वडा नं ३ का वडा अध्यक्ष भागवत घिमिरे , गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी , मकवानपुरगढी बृहत् खानेपानी योजना उपभोक्ता समुहका सचीव तथा यस योजनाका अध्यक्ष कृष्ण प्रसाद पोखरेल , प्राविधिक बिष्णु ढुङ्गाना लगायतको टोलीले प्रारम्भिक अध्ययन गरेको गाउँपालिका अध्यक्ष स्याङ्तानले बताउनुभयो ।
बुढिचौर खोलामा बगेर खेर गएको पानीलाई सदुपयोग गरि खानेपानीको आपूर्ति गर्न सके साबिक मकवानपुरगढीका करिब २ हजार घर धुरीलाई खानेपानी समस्याको समाधान हुनेछ ।