१७ पौष,मकवानपुर- केहि डेरी उद्योगीहरुले मनोमानी दुधको मूल्य बढाएको प्रती केन्द्रिय दुग्ध सहकारी संघ ले असहमति जनाएको छ । संघले शनिबार एक विज्ञप्ती जारी गर्दै केही निजि डेरी उद्योगीहरुले बढाएको भनिएको दुधको मूल्य अव्यावहारिक भएको जनाएको छ ।
दुधको मुल्य वृद्धि हुँदा किसानमुखी वृद्धि हुनुपर्ने भन्दै संघले केही निजि डेरीहरुले एकतर्फी रुपमा उद्योग निहित हित हुने तथा यसरी दुधको मूल्य वृद्धि गर्दा दीर्घकालीन असर पर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । दुधको मूल्य वृद्धि गर्दा संस्थागत निर्णयमा हुनुपर्ने भन्दै संघले किसानसँग दुधको मूल्य बढाएको नाममा डेरी उद्योगले उपभोक्ता मूल्य समेत बढाउने निर्णय गरेकोमा संस्थागत मूल्य वृद्धि गर्ने कार्यको विश्लेषण गर्दै सरोकारवाला निकायको निर्णय अनुसार राष्ट्रिय दुग्ध विकास बोर्ड मार्फत यथासिघ्र समय सापेक्ष दुधको मूल्य वृद्धि हुनुपर्ने जनाएको छ ।
विज्ञप्तीमा केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष अम्मर बहादुर कुंवर , नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल र दुग्ध विकास संस्थानका महाप्रबन्धक संजिव झाले हस्ताक्षर गरेका छन् ।
यसैबीच, राष्ट्रिय दुग्ध विकास बोर्डले हालै मुल्य वृद्धि गरिएको भनिएको दुधको मूल्य हाललाई स्थगन गर्ने सहमति भएको जनाएको छ । दुधको उत्पादन लागत मुल्य, बजार मूल्य वृद्धि तथा उपभोक्ता क्रयशक्ति समेतको वैज्ञानिक तवरबाट यथासिघ्र अध्ययन गरि मूल्य समायोजन गर्ने सहमति भएको समेत जनाएको छ ।
केही निजी डेरी उद्योगीहरुले मनोमानी रुपमा पौष १६ गतेबाट लागू हुने भन्दै उपभोक्ता मुल्यमा १४ रुपैयाँ सम्म वृद्धि गरिएको जनाएका थिए ।