१८ पौष,मकवानपुर- केन्द्रिय दुग्ध सहकारी संघले गत १६ गते शनिबार प्रकाशन गरेको कच्चा दुग्धको मुल्य निर्धारण सम्बन्धी विषयमा ध्यानाकर्षण सहितको प्रेस विज्ञप्ती प्रति मकवानपुर जिल्ला दुग्ध सहकारी संघले पुर्ण ऐक्यबद्धता जनाएको छ ।
किसानसँग दुधको मूल्य बढाएको नाममा केहि डेरी उद्योगले उपभोक्ता मूल्य समेत बढाउने निर्णय गरेकोमा संस्थागत मूल्य वृद्धि गर्ने कार्यको विश्लेषण गर्दै सरोकारवाला निकायको निर्णय अनुसार राष्ट्रिय दुग्ध विकास बोर्ड मार्फत यथासिघ्र समय सापेक्ष दुधको मूल्य वृद्धि हुनुपर्ने केन्द्रिय दुग्ध संघको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै भावी दिनहरुमा हुने यस्ता एक पक्षिय गतिविधिहरुलाई चिर्दै दुग्ध उत्पादक किसानको हितमा हुनेगरी सरोकारवालाहरु बिच एकताबद्ध भई कृषकहरुबाट उत्पादित दुधको उत्पादन लागत अनुसार चाँडो भन्दा चाँडो मुल्य बृद्धी गर्न गराउन समेत संघले जोडदार माग गरेको छ ।
डेरी उद्योगले मुल्य वृद्धि गर्दा फ्याट ४.० र एसएनएफ ८.० मा सहकारी संस्थालाई टिएस सहित प्रती लि. ७२ रुपैयाँ अर्थात प्रती लि.१२ रुपैयाँ मूल्य वृद्धि गर्ने जनाएको थियो भने उपभोक्ता मुल्यमा प्रती लि. १४ रुपैयाँ बढाउने निर्णय भएको बताएको थियो ।
हाल मकवानपुरका संस्थाहरुले सोही गुणस्तरमा उद्योगहरुबाट प्रति लिटर ६० रुपैयाँमा अतिरिक्त मूल्य थप ४ गरि ६४ रुपैयाँ प्राप्त गरिरहेका छन् । सो मूल्य समेत समायोजन गर्दा प्रती लिटर १२ रुपैयाँ मूल्य वृद्धि गरिएको भनिए पनि प्रती लिटर ८ रुपैयाँ मात्र मूल्य वृद्धि हुने थियो । किसानहरूले पनि फ्याट ४.० र एसएनएफ ८.० मा प्रती लिटर ६० रुपैयाँ प्राप्त गरिरहेका छन् ।