
८ माघ,मक्रान्चुली- साबिक मकवानपुरगढीमा खानेपानी समस्या भएपछि त्यसको दीर्घकालीन समाधानको लागी मकवानपुरगढी गाउँपालिका वडा नं ८ मा रहेका विभिन्न पानीका मुहानहरुको प्रारम्भिक अध्ययन भइरहेका छन् ।



त्यसैक्रममा गत शुक्रबार मकवानपुरगढी गाउँपालिका वडा नं ८ मा रहेको धन्दुरी खोलाको पानी ल्याउने तयारी स्वरुप अध्ययन गरिएको छ । मानवबस्तीबाट टाढा रहेको उक्त पानी फोहोरमुक्त रहेको र पिउनको लागि एकदमै स्वच्छ र शुद्ध रहेको बताइएको छ ।
अध्ययन टोलिमा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान,वडा नं ३ का वडाध्यक्ष भागवत घिमिरे लगायतका जनप्रतिनिधि, खानेपानी उपभोक्ता समितिका प्रतिनिधिहरु , संघीय खानेपानी कार्यालय हेटौंडाका ईन्जिनियर सहितको प्राविधिक टोलिले उक्त मुहानको पानी ल्याउन प्रारम्भिक अध्ययन गरेको छ । सो टोलीले साविक मकवानपुरगढीमा रहेको पिउने पानीको समस्या समाधानको लागि उक्त मुहान उपयुक्त रहेको निश्कर्ष निकालेको टोलिमा सहभागी रहेका वडा नं ३ का वडा अध्यक्ष भागवत घिमिरेले बताएका छन् ।

केही समय अघि पनि गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष लगायतका जनप्रतिनिधि, खानेपानी उपभोक्ता समितिका प्रतिनिधि , पालिकाका प्राविधिक , कर्मचारीहरुले बुढिचौर खोलाको पानी ल्याउन प्रारम्भिक अध्ययन गरेको थियो।
हालको मकवानपुरगढी गाउँपालिकाको वडा नं २, ३ र ४ मा संचालनमा रहेको बृहत खानेपानी योजनामा पानीको अपुग भएपछि थप मुहानको खोजी भएको हो । हालको वडा नं २ मा रहेको धवाडी खोल्सीको पानीलाई बृहत खानेपानी योजनाको मुहानको रूपमा प्रयोग गरिएको छ । सो पानीले अपुग भएपछी अन्य मुहानको खोजी गरिएको हो ।
गाउँपालिकाका पुर्व अध्यक्ष बिदुर हुमागाँईको अगुवाई तथा तत्कालीन संसदीय अर्थसमितिका सभापति एवम् मकवानपुर क्षेत्र नं १ का माननीय सांसद कृष्ण प्रसाद दाहालको विशेष पहल कदमीमा मकवानपुरगढी गाउँपालिकाको खानेपानी समस्याको दीर्घकालीन समाधानको लागि यस अघि नै योजना समावेश भइ रु १५ करोड बजेट समेत विनियोजन भएको छ । २ वर्ष भित्र योजनाको काम सम्पन्न गरि स्थानीय सरकारलाई हस्तान्तरण गर्ने गरि काम अघि बढाईएको सो योजनाका अध्यक्ष कृष्ण प्रसाद पोखरेलले बताउछन् ।
मकवानपुरगढीमा पछिल्लो समय बजारीकरण , ब्यवसायिक पशुपालन , पर्यटकीय क्षेत्र लगायतका कारण पानीको खपत धेरै भई अभाव बढ्दो छ । सोही कारण यहाँ खानेपानी आपूर्तिका लागि लिफ्ट सिस्टमका विभिन्न योजनाहरु पनि संचालनमा रहेका छन् । तर त्यस्ता योजना संचालनमा त्यती सहज छैन भने आर्थिक हिसाबले समेत महंगो पर्ने गरेको उपभोक्ताहरु बताउँछन् ।