
११ माघ,हेटौंडा- मकवानपुर उद्योग बाणिज्य संघ हेटौडाको आयोजनामा आज देखि सुरुवात भएको राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा मकवान्पुरगढी गाउँपालिकामा उत्पादित स्थानीय एवम रैथानेबाली कृषि उपजको प्रदर्शनी तथा बिक्री स्टल राखिएको छ ।


स्थानीयस्तरमा उत्पादित रैथाने बाली तथा वस्तुहरुको संरक्षण, प्रवर्द्वन र बजारीकरण गर्ने उदेश्य सहित कृषि ज्ञान केन्द्र चितवनको सहयोगमा विभिन्न सहकारी, कृषक समुह र कृषकहरुको समन्वयमा मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाले स्टल संचालनमा ल्याएको हो ।



प्रदर्शनीमा विभिन्न उपजहरु, कोदो, फापर, चिनो, कागुनो, लट्टे, सिलाम, आलस, सिमी, स्थानीय मकै, मस्याङ्ग, दुधे पिडालु, अदुवा, बेसार, उखु साथे कृषि कार्यमा प्रयोग हुने औजार तथा सामग्रीहरु जाँतो, हलो, कुटो, कोदालो, नाङ्गलो, डोको, ड़ाल्लो, थाकलको मान्द्रो, बाँसको मान्द्रो, कुरुवा लगायत प्रदर्शनीमा राखिएको छ । साथै कोदोको पिठो, फापरको पिठो, मकैको पिठो, बेसारको धुलो, खलेको कोदो, कोदोको नमकिन, मस्याङ्ग लगायतका वस्तुहरु बिक्रीमा राखिएको छ ।

पहिलो दिन प्रदर्शनीमा अवलोकनकर्ताहरुको उत्साहजनक उपस्थिति रहेकोमा उपजहरुको बारेमा जानकारी लिने र खरिद गर्नेहरुको राम्रो प्रतिक्रियाहरु प्राप्त भएको गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो । साथै उहाँले स्थानीय एवम रैथानेबालीको उपभोगमा जोड तथा प्रवर्द्वनमा सहयोग गर्न सबैलाई अनुरोध समेत गर्नुभएको छ ।