१४ माघ,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका भित्रका विद्यालयहरुमा दिवा खाजामा रैथानेबालीको परिकार समावेश गर्ने उदेश्यले हिजो गते देखि विद्यालयमा खाजा बनाउन संलग्न कर्मचारीहरुलाई दुई दिने परिकार बनाउने तालिमको शुरु भएको छ ।
पहिलो चरणको तालिममा वडा न १, २, ३, ४ र ६ का गरि १५ वटा विद्यालयलाई सहभागी गराइएको छ । तालिमको पहिलो दिन विद्यालयमा खाजाको रुपमा पकाउन सकिने परिकारहरु कोदो र फापरको हलुवा, नमकिन, फुलौरा पकाउन सिकाइएको गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।
तालिम पश्चात उक्त विद्यालयहरुमा हप्ताको एक दिन रैथानेबालीको परिकार खुवाउन शुरुवात गरिने बताइएको छ ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको अध्यक्षतामा मकवानपुरगढी -२, आनन्द होमस्टेमा संचालन भएको तालिमको उद्घाटन कार्यक्रममा वडा नं २ का वडाध्यक्ष बखान सि पाख्रिन लगायतकाको सहभागीता रहेको थियो ।
गत पौष २९ गतेको कार्यपालिकाको बैठकबाट हरेक विद्यालयमा हप्ताको एक दिन विहिबार स्थानीय एवम् रैथानेबालीको परिकारलाई विद्यालय दिवा खाजामा समावेश गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले बताउनुभयो ।