काठमाडौं- सरकार छाड्ने सम्मको योजना बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले तत्काल सरकारबाट नहट्ने निर्णय गरेको छ ।
गृहमन्त्रीका विषयमा निर्णय लिन प्रधानमन्त्रीलाई २ दिन समय दिने निर्णय भएको बैठकपछि पत्रकारसँग बोल्दै पार्टीका प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए । उनका अनुसार बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेलाई फोन गरेका थिए । दुवै नेताले सरकार छाड्ने निर्णय हतारमा नलिन आग्रह गर्दै २ दिन समय मागेको उनको भनाइ छ । त्यसै अनुसार वैठकले निर्णय लिएको बताइएको छ ।
प्रवक्ता डा. ढकालले गृह मन्त्रालय पार्टीले कुनै हालतमा नछाड्ने समेत बताएका छन् । साथै, आफूले पाएको मन्त्रालयमा कसलाई पठाउने भन्ने निर्णय पार्टीमै निहित रहने र गृहमन्त्रीमा कसलाई पठाउने भन्ने पार्टीले निर्णय लिइ नसकेको उनको भनाइ छ ।
यसअघि सभापति लामिछानेले एक महिना गृह मन्त्रालयमा बसेर विभिन्न योजनाहरु बनाएकाले त्यसलाई कार्यान्वयन गर्न सो मन्त्रालय मागिएको उनको भनाइ छ । वैठकले केपी ओलीको नेतृत्वमा रहेको उच्चस्तरीय संयन्त्रको वैठक बोलाउन पनि माग गरेको छ ।
सम्वन्धित समाचार
Add A Comment