पछिल्लो कृषि गणना २०७८ अनुसार नेपालमा ३४ लाख पाँच हजार अर्थात् ८२ प्रतिशत किसान परिवारले पशुचौपाया पालेको पाइएको छ ।
२०७८ को तथ्याङ्कअनुसार गाईगोरु पाल्ने किसान परिवारको सङ्ख्या १७ लाख आठ हजार छ भने उनीहरूले पालेका गाईगोरूको सङ्ख्या ४५ लाख ५९ हजार छ । तर २०६८ अनुसार २२ लाख ८१ हजार किसानले पालेका गाईगोरुको सङ्ख्या ६४ लाख ३० हजार थियो । त्यस्तै नेपालमा राँगा र भैँसीको सङ्ख्या २९ लाख २३ हजार छ । विगतमा ३१ लाख ७४ हजार रहेको थियो ।
केन्द्रीय तथ्याङ्क कार्यालयले आज बिहीवार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना–२०७८ को विवरणअनुसार १० वर्षमा राँगा र भैँसीको सङ्ख्या दुई लाख ५१ हजारले घटेको हो ।
कृषि गणना २०४८ र २०७८ को अवधिमा बाख्रा/च्याङ्ग्राको सङ्ख्या डेढ गुणाभन्दा धेरैले बढेर एक करोड ४२ लाख ४२ हजार पुगेको छ । सुँगुर/बङ्गुरको सङ्ख्या पनि झन्डै दोब्बरले बढेर १३ लाख ५८ हजार पुगेको छ । तर भेडाको सङ्ख्या छ लाख तीन हजारबाट घटेर चार लाख ७८ हजार भएको छ ।
कृषि गणना २०६८ अनुसार बाख्रा/च्याङ्ग्राको सङ्ख्या एक करोड नाै लाख ९० हजार, सुँगुर/बङ्गुरको सङ्ख्या आठ लाख १९ हजार थियो ।