हेटौंडा । पहिलेको तुलनामा मकवानपुरमा कमै मात्र वर्षा हुन थालेको छ । मनसुन बाहिरीदै गर्दा यो दशैको समयमा डेंगुको सिजन भने भित्रदै गरिएको छ । हेटौंडा अस्पतालमा डेंगुका विरामीको चाप बढ्दै गएको स्वास्थ्यकर्मीहरु बताउँछन् । पानी केही रोकिएको भएपनि सफा पानी जमेका स्थानबाट नहटाउँदा डेंगुको संक्रमणको खतरा भने टरेको छैन ।


हेटौंडा र आसपासका क्षेत्रमा पानी हरेक दिन नआए पनि दुइ दिनमा एक पटक भने परिरहेको छ । यसका कारण पनि पानी जम्ने गर्दछ । डेंगु नियन्त्रणका लागि बितेको वर्ष हेटौंडा उपमहानगरपालिकाले वडा वडामा निकै अभियान चलाए पनि यो वर्ष आसै चलाएको छैन । पानी जमेका धेरै स्थान छन् । तर, उनीहरुका लागि कार्बाही नहुँदा पनि यो समस्या बढ्दै गएको प्रतक्षदर्शीहरु बताउँछन् ।
मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ६२४ पुगेको छ । जिल्लामा मंगलबार थप ४ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ६२४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
मंगलबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ३ जना र थाहा नगरपालिकाका एक जनामा डेंगू संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा हालसम्म संक्रमित भएकामध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ ४१९ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।
यसैगरी, थाहानगरपालिकाका ३ जना, मकवानपुरगढी गाउँपालिकाका १५ जना, बागमती गाउँपालिकाका २४ जना, मनहरी गाउँपालिकाका ६१ जना, इन्द्रसरोवर गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका ३१ जना, बकैया गाउँपालिकाका १८ जना र राक्सिराङ गाउँपालिकामा २ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।
यस्तै, सो अवधिमा हेटौंडामा अस्पतालमा ४० जना र अन्य जिल्लाका ७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै, सो अवधिमा जिल्लामा डेंगू संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ का एक जना पुरुष रहेका छन् ।