संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेस नेपाल आइपुगेका छन् । महासचिव गुटेरेस चार दिने भ्रमणका क्रममा नेपाल आइपुगेका हुन् ।


उनी आइतबार राती १ बजे काठमाडौं आइपुगेका हुन् । उनलाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका थिए ।
महासचिव गुटेरेस प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन् । महासचिव गुटेरेस पोर्चुगलका पूर्वप्रधानमन्त्री समेत हुन् ।
नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेसले आइतबार दिउँसो परराष्ट्रमन्त्री साउदसँग द्विपक्षीय भेटवार्ता गरेपछि प्रधानमन्त्री दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
त्यस लगत्तै उनले नेपालका पूर्वप्रधानमन्त्रीहरूसँग सामूहिक भेटवार्ता गर्ने, ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकन गर्ने र प्रधानमन्त्रीको आयोजनामा हुने रात्रिभोजमा सहभागी जनाउनेछन् ।
यस्तै, भोलि कात्तिक १३ गते सोमबार महासचिव गुटेरेस जलवायु परिवर्तनको असरलाई बुझ्न सोलुखुम्बुको स्याङ्बोचेसम्म अवलोकन गर्ने, ललितपुरस्थित यूएन हाउसको कार्यक्रममा सहभागी हुने र सोमबार नै पोखरा जाने कार्यसूची रहेको छ ।
यसैगरी, कात्तिक १४ गते मंगलबार महासचिव गुटेरेस पोखराबाट बिहान अन्नपूर्ण सर्किट अवलोकन गर्ने, पोखरा फर्केर पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्ने र त्यसपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने, लुम्बिनीबाट काठमाडौं फर्केर सोही दिन बेलुकी संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
यस्तै, सोही दिन संसद्कै परिसरमा पत्रकार सम्मेलन गर्ने र त्यसको भोलिपल्ट कात्तिक १५ गते बुधबार नेपालको आफ्नो चारदिने भ्रमण पूरा गरी स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ ।