मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहको र त्यसको प्रभावले केही प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ ।


महाशाखाका अनुसार, हाल देशको मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको हो । ती प्रदेशको बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहेको छ ।
यस्तै, आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ ।
यसैगरी, आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने र देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको जनाइएको छ ।