तिहारको टिकाको दिनमा दिदी बहिनीहरुले दाजुभाइलाई टिका लगाएर दिइने भाइ मसला हेटौंडामा बिगतका वर्षको तुलनामा यो वर्ष अली घटेको छ । तर, भाइ मसलाको मुल्यबृद्धी भने भएको छ । हेटौंडा बजारमा भाइमसला खरिद गर्दा बिगतको तुलनामा मुल्य निकै बढेको हेटौंडा–५ की भवानी पाण्डे बताउनुहुन्छ ।


भाइ मसलामा व्यावसायीहरुले बिग्रीएका सामानहरुलाई पनि मिसाएर बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । हेटौंडा बजारको मेनरोड, रापतीरोड, कान्तिराजपथ, पारिजातपथ, स्कुलरोड लगायतका क्षेत्रका धेरै किराना पसलहरुले भाइ मसला पनि बिक्री गर्दै आएका छन् । तर, बिगतका वर्षको तुलनामा भाइमसलाको मुल्य बृद्धी गरेर बिक्री गर्दै आएको उपभोक्ताहरुको गुनासो छ । भाइमसलाको मुल्यबृद्धी भएपनि भारतबाट हेटौंडामा भित्रने मसलाको आयात भने घटेको छ ।
बजारमा अधिकांश सामानको मूल्य बढेको बेला तिहारमा प्रयोग हुने ड्राइफ्रुट्स (भाइमसलाको) मूल्यसमेत बढेको छ । व्यवसायीका अनुसार यस वर्ष तिहारमा प्रयोग हुने मसलाको मूल्य अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । भाइमसला तिहारमा बढी खपत हुने गर्छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई खुवाउन उपहारका रूपमा अनिवार्य रूपमा दिने भएकाले पनि तिहारमा यसको खपत बढी हुने गर्छ । बाहिरी मुलुकबाट मूल्य बढेर आएकाले त्यसको असर स्थानीय बजारमा पर्न गएको हेटौंडाका व्यावसायीहरु बताउँछन् । तिहारमा खपत बढी झिलिमिली बत्ति, पाला, लक्ष्मी पुजाका सामान, भाँडावर्तन, सेल पकाउनका लागि कराई बिक्री हुन थालेको व्यवसायीको भनाइ छ ।