१ माघ,मक्रान्चुली- सहिद रुद्र पाख्रीन,बासुदेव घिमिरे स्मृति दोश्रो अन्तरपालिका स्तरीय फुटसल प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरले जितेको छ ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर-३ मक्रान्चुलीमा रहेको भानु मिनिपिच (फुटसल) मा सोमबार(आज) सम्पन्न भएको फाइनल खेलमा मकवानपुरगढी खेलकुद विकास समितिलाई ७-४ को गोल अन्तरले पराजित गर्दै हेटौंडा उपमहानगरपालिकाको टिमले उपाधी जित्न सफल भएको हो ।
उपाधी सँग हेटौंडाले १ लाख २५ हजार सहित सिल्ड हात पारेको छ । त्यस्तै उपविजेता मकवानपुरगढीले ७५ हजार जितेको छ ।
खेलमा बेष्ट गोल्किपर हेटौंडाका सुजन लामा भएका छन् ।त्यस्तै मकवानपुरगढीका सुजन बोम्जन १५ गोल सहित सर्वाधिक गोलकर्ता , हेटौंडाका समिरराज थोकर बेस्ट प्लेयर र मकवानपुरगढीका दुर्लभ दुलाल उदयमान खेलाडीको रुपमा पुरस्कृत भएका छन् ।
मकवानपुरगढी गाउँपालिका सहित हेटौंडा उपमहानगरपालिका, बाग्मती गाउँपालिका र थाहा नगरपालिका गरि ४ वटा पालिकाका ७ ओटा टिमले प्रतियोगितामा भाग लिएको थियो ।
शनिबारदेखि ३ दिन सम्म संचालन भएको खेलको समापन कार्यक्रममा प्रमुख अतिथि एवम् मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले विजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष मान कुमारी पाख्रीन नेपाली , वडा नम्बर २ का वडा अध्यक्ष बखान सिंह पाख्रीन, बडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरे लगायत विभिन्न संघसंस्थाहरुका प्रमुख एवम् प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
समापन कार्यक्रमकै अवसरमा सहिद रुद्र बहादुर पाख्रीन र बासुदेव घिमिरेको परिवारलाई सम्मान गरिएको थियो । मकवानपुरगढी ४ निवासी स्वर्गीय पाख्रीन १० बर्षे सशस्त्र आन्दोलनका सहिद हुन भने मकवानपुरगढी ५ निवासी घिमिरे जन आन्दोलन २०६२-६३ का सहिद हुन् ।
खेलको समापन कार्यक्रम मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष हिरा बहादुर स्याङ्तानको सभाध्यक्षतामा भएको हो ।
सम्वन्धित समाचार
Add A Comment