
मकवानपुर- मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले आफ्ना सदस्य संस्थाहरुका ब्यवस्थापकहरु सँग कोभिड -१९ बाट सुरक्षित रहन अपनाउनु पर्ने न्युनतम मापदण्डका विषयमा छलफल गरेको छ ।


आइतबार (हिजो) हेटौंडा उपमहानगरपालिका भित्र रहेका दुग्ध सहकारी संस्थाका ब्यवस्थापकहरु तथा सोमबार (आज) गाउँपालिका ( मकवानपुरगढी , भिमफेदी , मनहरी र बकैया ) भित्र रहेका दुग्ध सहकारीका ब्यवस्थापकहरुसँग अन्तरक्रिया छलफल गरेको छ ।

संस्थाहरुमा दैनिक दुग्ध संकलन गर्दा तथा सामान बिक्री गर्दा आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर मात्र काम गर्ने छलफलको भएको छ । भौतिक दुरी कायम गर्ने , मास्कको प्रयोग गर्ने , साबुनपानीले हात धुने ब्यवस्थापन गर्ने तथा सेनेटाईजरको प्रयोग गर्ने , सबैले देख्नेगरी संस्थामा र वडा कार्यालय वा भिडभाड हुने स्थानमा सुरक्षित रहन अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड सहितको ब्यानर प्रयोग गर्ने निर्णय भएका छन् ।

छलफलमा जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी , केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष तथा जिल्ला संघका निवर्तमान अध्यक्ष नारायण प्रसाद देवकोटा , उपाध्यक्ष धर्मराज लामिछाने , ब्यवस्थापक कुमारमणी दाहाल लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रम हेटौंडा -१ चौकिटोलमा रहेको संघको सभाहलमा भएको हो ।