४ फाल्गुन,मक्रान्चुली- बागमती प्रदेशको राजधानी हेटौंडाबाट सञ्चालन भइरहेको रेडियो थाहासञ्चार ९९.६ को वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम संचालन भइरहेको छ । सोही अन्तर्गत चौथो दिन आज बुधबार दुग्ध उत्पादन क्षेत्रको अवसर र चुनौती विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मकवानपुरगढी गाउँपालिका वडा नं ३ मक्रान्चुलीमा रहेको जिल्लाकै उत्कृष्ट दुग्ध सहकारी मनकामना दुग्ध उत्पादक सहकारी संस्थामा भएको हो ।
कार्यक्रममा बागमती प्रदेश सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाँईले प्रदेश सरकार किसानको हितको पक्षमा रहेको भन्दै कृषि ऐन बनाउन लागेको बताउनु भएको छ। मन्त्री हुमागाँईले किसानलाई वर्गिकरण गरि किसान लक्षित कार्यक्रमहरु गरिने बताउनुभयो । कृषिलाई व्यवस्थित गर्दै कृषकको विकासको लागि ऐन आवश्यक रहेको भन्दै ऐन पुनर्निर्माण गर्ने तयारीमा प्रदेश सरकार लागिपरेको उहाँले बताउनुभयो ।
पहुँचको आधारमा सरकारले अनुदान नदिने भन्दै प्रदेश सरकारले वास्तविक किसानसम्म अनुदान पुर्याउने नीति तथा कार्यक्रममा समेटिएर किसानका हितमा रहने खालका कार्यक्रमहरुलाई प्राथमिकतामा राखिने बताउँदै दुधको मुल्य, बजारिकण, अनुदानका विषयमा केहि हद सम्ममा भएपनि दुधको मुल्य वृद्धिगर्नमा प्रदेश सरकारको भूमिका रहेको बताउनु भयो । पशुबिमा, शीतभण्डारमा स्थानीय तहसँग सहकार्य गरि कार्यक्रम गर्न सकियो भने किसानलाई थप सहज हुने उहाँको भनाई थियो ।
कार्यक्रममा किसानहरुले गाई वस्तुलाई खुवाउने पशुआहारको मुल्य आकाशिदा दुधको मुल्य थोरै मात्रै बढेको गुनासो पोखेका थिए । दुधको भुक्तानी ढिला भएकोमा किसान मारमा परेको भन्दै उनीहरूले गुनासो पोखेका थिए ।
मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि.का अध्यक्ष अर्जुन प्रसाद दहालको सभाध्यक्षातामा भएको कार्यक्रममा प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष तथा केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटा, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई, जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष बासुदेब अधिकारी, रेडियो थाहा सञ्चारका प्रवन्धक अरुणराज सुमार्गी, मकवानपुरगढी गाँउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरे, श्रमिक साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष निर्मला लम्साल, वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघका केन्द्रिय अध्यक्ष रोमलाल गिरी, रानी सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष बिष्णुप्रसाद न्यौपाने लगायतले आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा दुग्ध उत्पादक किसानहरुको उपस्थिति रहेकोे थियो ।
सम्वन्धित समाचार
Add A Comment