१ बैशाख ,मकवानपुर- सरकारले पत्रकारिता मार्फत् समाजमा विशिष्ट योगदान पुर्याएको भन्दै पत्रकार गिरिजा अधिकारीलाई जनसेवा श्रीबाट विभूषित गरेको छ । अधिकारी हेटौंडाबाट प्रकाशित तु खबर डटकमका सम्पादक हुन् ।
सरकारले आयोजना गरेको एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिकारीलाई विभूषणबाट विभूषित गरेकी हुन् । २ दशकभन्दा बढी निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय रहेका अधिकारीलाई सरकारले संविधान दिवस २०७८ को अवसर पारी जनसेवा श्रीबाट विभूषित गर्ने घोषणा गरेको थियो ।
अधिकारी पत्रकार, साहित्यकार तथा गीतकार हुन् । २०४२ सालमा सिन्धुपाल्चोक जिल्लामा जन्मिएका उनी मकवानपुरका स्थायी वासिन्दा हुन् । २०५७ सालबाट पत्रकारितामा आवद्ध अधिकारीले पर्सा जिल्लाको वीरगञ्जबाट प्रकाशित हुने प्रतीक दैनिकबाट पत्रकारिता सुरु गरेका हुन् ।
विभिन्न संचार माध्यममा अधिकारीले सम्पादकका रुपमा काम गरिसकेका छन् । काठमाडौँबाट प्रकाशित हुने नयाँ पत्रिका दैनिकको उपसम्पादक, शौर्य दैनिकको बरिष्ठ उपसम्पादक, हेटौंडाबाट प्रकाशित हुने थाहा सन्देश दैनिक र प्रदेश दैनिकको सम्पादक, टिम टेलिभिजनको डेक्स सम्पादक र साम साप्ताहिकको सम्पादकको रुपमा काम गरिसकेका उनी हाल हेटौंडाबाट प्रकाशन भइरहेको तु खबर डटकमको सम्पादकको रुपमा कार्यरत छन् ।
अधिकारी गीत लेखनमा समेत सक्रिय छन् । उनलाई प्रेस काउन्सिल नेपालले युवा पत्रकारिता पुरस्कार समेत प्रदान गरिसकेको छ । त्यस्तै उनी राष्ट्रिय सूचना आयोगको प्रादेशिक सूचना पुरस्कार, शिक्षा पत्रकारिता पुरस्कार, कान्तिपुर पत्रकारिता पुरस्कार, पहल उत्कृष्ठ खोज पत्रकारिता पुरस्कार र रिपोटर्स क्लबको क्रियाशील युवा पत्रकारिता पुरस्कारबाट समेत पुरस्कृत भै सकेका छन् ।