थाहा नगर / थाहा नगरपालिकाको आयोजना तथा जिल्ला युवा समितिको कार्यालय मकवानपुरको संयोजनामा थाहानगरमा पहिलो पटक आयोजना भएको नमूना युवा नगरसभाको अभ्यास सम्बन्धी प्रशिक्षण कार्यक्रममा बिस्मिता गोपाली नमूना मेयरमा निर्वाचित भएकी छिन् ।
कार्यक्रमको दोश्रो दिन सोमबार भएको नमूना निर्वाचनमा ६४ प्रतिशत मत प्राप्त गर्दै बिस्मिता थाहा नगरको पहिलो नमूना मेयरमा निर्वाचित भएकी हुन् ।
मेयरमा विजयी गोपालीले अर्का आकांक्षी तथा निकटतम प्रतिद्धन्दी रोशन बलामीलाइ ११ मतले पराजित गरेकी हुन् । मेयरमा गोपाली, बलामी, श्रीजना बिश्वकर्मा र प्रसिद्ध अर्याल गरी ४ जनाको उम्मेद्वारी परेको थियो ।
यसैगरी थाहा नगरको नमूना उपमेयरमा ओमस प्रधान निर्वाचित भएका छन् । उप मेयरमा प्रधानले सुनिल स्याङ्गतान, र सुरज गोपालीलाई पराजित गरेका थिए ।
निर्वाचित मेयर, उपमेयर तथा नगरसभा सचिब एवं सदस्यहरुले सोमबार नै पद तथा गोपनियताको सपथ ग्रहण गरेको जिल्ला युवा समितिका अध्यक्ष शिवहरि दाहालले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी थाहा नगरपालिकाका १२ वटै वडाका ४५जना युवाहरुलाई प्रशिक्षकद्वय मुना तिवारी र अशोक खनालले सहजीकरण गरिरहनुभएको छ ।
प्रशिक्षणको पहिलो दिन युवा जीवन र मार्गदर्शन, लोकतन्त्र र लोकतान्त्रिक संस्कृति, सूचनाको हक सम्बन्धी अवधारणाको विषयमा प्रशिक्षकले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
दोस्रो दिनमा नेपालमा युवा संसदको अवधारणा र अभ्यास, युवा क्लब र युवा क्लब गठन प्रक्रिया, स्थानिय योजना निर्माणका सात तहहरु र वस्तीस्तरको योजना निर्माणमा युवा क्लबको भूमिका, नगरसभा संचालन सम्बन्धी कार्यविधि तथा गाउँ- नगर सभामा पालना गर्नुपर्ने नियमहरुका विषयमा पनि प्रशिक्षकहरुले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
।
।