राष्ट्रिय परीक्षा बोर्डले अबदेखि माध्यमिक शिक्षा परीक्षा(एसइई) परीक्षा स्तरीकृत प्रणालीबाट सञ्चालन गर्ने भएको छ। परीक्षा प्रणालीलाई व्यवस्थित पार्न भन्दै बोर्डले यस्तो प्रणाली लागु गर्न लागेको हो।
गत पुस ९ गते बोर्डको अध्यक्षमा डा.महाश्रम शर्मा नियुक्त भएपछि उनले यो मुद्धालाई अगाडी बढाएका थिए। उनले अब हुने एसइई परीक्षाबाटै यो प्रणालीबाट सञ्चालन गर्ने बताए।
‘तीन विषयको प्रश्नपत्र स्तरीकृत हुन्छन,टेस्टेड प्रश्नपत्र हुन्छन्,अब चालु एसइई परीक्षादेखि नै लागु हुने छ,’उनले भने। अनुसार अनिवार्य विषय, गणित,विज्ञान र अंग्रेजी विषयको प्रश्नपत्र स्तरीकृत रूपबाट तयार गरेर त्यसअनुसार परीक्षा सञ्चालन गरिने छ।
‘यी विषयको परीक्षालाई स्तरीकृत परीक्षा प्रणालीको रुपमा सञ्चालन गर्ने योजना छ, यसका लागि प्रश्नपत्र निर्माणका लागि बैंक खडा गर्ने छौँ,प्रदेश आफैँले प्रश्नपत्र बनाएर परीक्षा लिए तापनि हरेक प्रदेशमा लिइने परीक्षाको प्रश्नपत्र एउटै हो होइन भनी एकरूपताको स्तर जाँचिएको थिएन,अब भने हुन्छ,’उनले भने।
त्यस्तै,उनले अब भने यसअघिको परीक्षाको गुणस्तर हेरेर प्रश्नपत्र निर्माण गरी एउटा बैंक खडा गर्ने र त्यहाँबाट प्रदेशले प्रश्नपत्र लिने व्यवस्था मिल्ने बताए। यसरी प्रश्नपत्र छनोट,निर्माण गरेपछि कमीकमजोरी सुधार हुने र विश्वासनीय नतिजा आउने उनको भनाइ छ।
अघिल्ला वषर्हरुमा भन्दा २०७८ सालको एसइई परीक्षाको नतिजा कमजोर देखिएको छ। शिक्षाविद्हरूले दक्ष शिक्षक र शिक्षा प्रणालीको समीक्षा नहुँदा अपेक्षाअनुसार एसइईमा विद्यार्थीहरूले नम्बर ल्याउन नसकेको बताएका छन्।