हेटौंडा – मकवानपुरको ३ सय ५६ मतदान कन्द्रमा बिहान ७ बजेदेखि उत्साहपूर्ण ढंगले मतदान सुरु भएको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य चुन्न जिल्लाको १ सय ६७ मतदानस्थलका ३ सय ६४ केन्द्रमा मतदान सुरु भएको हो ।
मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाका अनुसार सबै स्थानमा बिहान ७ बजे देखि नै मतदान सुरु भएको हो ।मतदाताहरू विहानैदेखि मतदानस्थलमा लाइन लागेका छन् । मतदान शान्तिपुर्ण र उत्साह जनकरुपमा भईरहेको मुख्य निर्वाचन अधिकृत निरौलाले बताए ।
मतदान केन्द्र मध्ये मकवानपुर–१ मा १७२ वटा र मकवानपुर–२ मा १९२ मतदान केन्द्र रहेका छन् । मकवानपुरका दुई निर्वाचन क्षेत्रमा गरेर तीन लाख ७३३ मतदाता रहेका छन् । जसमा प्रतिनिधिसभा क्षेत्र नं।१ मा १ लाख ५० हजार १५५ र क्षेत्र नं।२ मा १ लाख ५० हजार ५७८ मतदाता रहेका छन् ।
निर्वाचनमा करिब ३ हजार कर्मचारी र ३ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको निरौलाले बताए । चुनावको सुरक्षाका लागि पहिलो घेरामा म्यादी प्रहरी, नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना खटिएका छन् । प्रतिनिधि दुई र प्रदेशसभा चार गरी कुल छ पदका लागि ६९ जना चुनावी प्रतिस्पर्धामा छन् ।