२८ मंसिर,मक्रान्चुली- अनुदान रकम सदुपयोग गर्न नसकिएको महशुश गरी मकवानपुरगढी गाउँपालिकाका ६ जना स्थानीय युवाले भने गाउँपालिकाबाट लिएको अनुदान रकम गाउँपालिका लाई नै फिर्ता गरेका छन् ।
अनुदान लिएर रकम दुरुपयोग गरेका थुप्रै उदाहरण भै रहँदा २०७६ सालमा मकवानपुरगढीका ६ जना युवाहरूले सामुहिक रुपमा बागमती साबुन उद्योग दर्ता गरेका थिए । आथिक वर्ष २०७६/०७७ मा गाउँपालिकाबाट लिएको ५ लाख ६४ हजार चारसय पचास रुपैयाँ स्थानीय युवाले बुधबार गाउँपालिकालाई नै फिर्ता गरेका हुन् ।
कोभिड १९ का कारण व्यवसाय फस्टाउन नसकेको, जडान गरेका उपकरण बिग्रीएको कारण उद्योग सञ्चालन गर्न समस्या देखिएपछि सञ्चालक समितीको बैठक बसेर अनुदान रकम फिर्ता गर्ने निर्णय गरिएको संचालक मध्येका एक गोविन्दराज दुलालले बताएका छन् । उहाँका अनुसार गाउँपालिकाको राजस्व खातामा नगद रकम दाखिला गरी भौचर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीलाई बुझाइएको छ ।
अनुदान लिनेमध्ये अधिकांश वैदेशिक रोजगारीबाट फर्किएका हुन् । उनीहरूलाई तत्कालीन गाउँपालिका अध्यक्ष विदुर हुमागाईंको पहलमा स्वदेशमै उद्यम सञ्चालन गर्न प्रोत्साहन गर्दै अनुदान उपलब्ध गराइएको थियो । बागमती साबुन उद्योगको नाममा गाउँपालिकाले दिएको अनुदान र आफ्नो लगानीमा उनीहरूले साबुन उत्पादन गरिरहेका थिए ।
कम क्षमताको मेसिन र कोरोना महामारी लगायतका कारण अपेक्षा गरेअनुसार उद्योग चलाउन नसकिएको भन्दै गत बैशाखमा सम्पन्न स्थानीय चुनाव पछि गाउँपालिकासँग थप अनुदान माग गरिएको थियो । तर गाउँपालिकाले अनुदान थप गर्न कुनै चासो नदिएपछी उद्योग संचालन गर्न नसक्ने भन्दै पहिला लिएको अनुदान फिर्ता गर्ने निर्णय गरिएको उनीहरुको भनाई रहेको छ ।
स्थानीय युवाहरु गोविन्दराज दुलाल, सन्तोष घिमीरे, होमनाथ दाहाल, यम प्रसाद आचार्य, सुरेन्द्र तिमल्सिना र शुशील तिमल्सिनाले अनुदान रकम फिर्ता गरेका हुन् । सर्वसाधारणले तिरेको करबाट लिएको अनुदान सदुपयोग गर्न नसेकोको भन्दै उनीहरुले रकम फिर्ता गरिएको बताएका छन् ।
सम्वन्धित समाचार
Add A Comment