४ पौष,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकामा आईतवार भु-उपयोग क्षेत्र वर्गीकरण सम्बन्धि अन्तक्रिया कार्यक्रम भएको छ ।
वडा नं ३ को आयोजनामा भएको वडा स्तरीय अन्तरक्रिया कार्यक्रममा नेपाल सरकारले कार्यान्वयनका लागी जारी गरेको भुमि सम्बन्धि ऐन नियमका विषयमा छलफल गरिएको थियो । विशेष गरि कृषि क्षेत्र र आवास क्षेत्र निर्धारणका विषयमा छलफल भएको छ ।
सरकारले भुमि सम्बन्धि ऐन २०२१ र भु-उपयोग ऐन २०७६ को दफा १० तथा नियमावली २०७९ को नियम १२ मा भएको ब्यवस्था अनुसार जग्गाको खण्डीकरण, नियन्त्रण तथा कित्ताकाट गर्ने कार्यलाई नियमन गर्न विभिन्न आधार र मापदण्ड बनाएको छ ।
मापदण्ड अनुसार काठमाडौं उपत्यकामा कृषि क्षेत्र वर्गीकरण भएको जग्गा ५०० वर्ग मिटर अर्थात ३० धुर , तराई र भित्री मधेसमा ६७५ वर्ग मिटर अर्थात ४० धुर र सो बाहेकका भुभागमा १ हजार वर्ग मिटर अर्थात ५९ धुर भन्दा तल कित्ताकाट गर्न पाईने छैन ।
त्यस्तै आवास क्षेत्र वर्गीकरण भएको जग्गा काठमाडौं उपत्यका लगायत तराई, पहाड र हिमाली क्षेत्र सबैमा १३० वर्ग मिटर अर्थात ७.६७ धुर र ५०० वर्ग मिटर अर्थात् ३० धुर भन्दा सानो कित्ताको हकमा चौडाइ भन्दा लम्बाई चार गुणा भन्दा बढी हुने गरि कित्ताकाट गर्न पाईने छैन ।
जग्गाको वर्गीकरण पश्चात् आवास क्षेत्र , कृषि क्षेत्र लगायतका क्षेत्रमा सोही अनुसारले आवश्यक पुर्वाधार विकास गर्न सहज हुनेछ ।
कस्तो जग्गालाई आवास क्षेत्र र कस्तो जग्गालाई कृषि क्षेत्र छुट्याउने भन्ने विषयमा गाउँपालिकाका कृषि शाखा प्रमुख एवम् कार्यक्रमका संयोजक चन्द्रकान्त चौधरी र गाउँपालिकाका सबइन्जिनियर बिष्णु ढुङ्गानाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
वडा नं ३ का वडाध्यक्ष भागवत घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वडा भित्र रहेका राजनीति दल , विभिन्न टोल विकास संस्था , विद्यालय , सहकारी , बन , खानेपानी , सुरक्षा निकाय का प्रतिनिधि, संचारकर्मी लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन वडा नं ३ का वडासचिव सोनिका अर्यालले गर्नुभएको थियो ।
मकवानपुरका १० वटा स्थानीय तह मध्ये अहिलेसम्म हेटौंडा उपमहानगरपालिकाले मात्र सो सम्बन्धि कार्यविधि पास गरि कार्यान्वयनमा आएको छ ।
सम्वन्धित समाचार
Add A Comment