११ पौष,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले आज (सोमबार) सार्वजनिक सुनुवाइ गरेको छ । संस्थाद्धारा सञ्चालित मनकामना दुग्ध प्रशोधन तथा उत्पादन उद्योग उप-आयोजनाको कार्य सम्पन्नताको जानकारी स्वरूप सार्वजानिक सुनुवाई भएको हो ।
संस्थाका अध्यक्ष अर्जुन प्रसाद दहालको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रममा अध्यक्ष दहालले उद्योग उप आयोजनाको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले संस्थाको २०४२ साल देखी हालसम्मको अवस्थालाई चित्रण गर्दै उप-आयोजना सञ्चालनसम्मको अवस्था बारे प्रष्ट पारेका थिए ।
२०७८ भाद्र महिनामा नेपाल लाईभस्टकसँगको सम्झौता पश्चात कामको सुरुवात गरिएको अध्यक्ष दहालले बताए । उनले उद्योग दर्ता गरि अनुज्ञापत्र लिन कागजपत्र बुझाइएको समेत बताएका छन् । उप-आयोजनाको सुरुवाती बजेट २ करोड ३३ लाख ३१ हजार ७९१ रहेको छ । जसमा आयोजनाको पुरक अनुदान एक करोड रहेको छ भने संस्थाले ६३ लाख ३१ हजार ७९१ रुपैयाँ लगानी रहेको छ । सहकारीले बैंक वा वित्तीय संस्थाबाट लिने कर्जा ७० लाख रहेको प्रतिवेदन मार्फत बताइएको छ ।आयोजनाबाट ३ किस्तामा अनुदान रकम प्राप्त हुने मध्ये तेस्रो किस्ता आउन बाकीँ रहेको अध्यक्ष दहालले बताएका छन् ।
सहकारीमा हाल दैनिक ४३ सय लि. दुध संकलन हुने गरेको र संकलित दूध हेटौंडा,काठमाडौं लगायतका उद्योगहरुमा बिक्री गर्नुका साथै बजारको माग अनुसार दहि, घ्यु, पनिर, वटर तयार पारी विक्री गर्ने गरेको बताइएको छ । सहकारीले खुला दुध विक्री गरिरहेको अवस्थामा अब भने पाश्चुराईज प्याकेजिङ्ग गरि दुध विक्री गरिने जनाएको छ ।
उप-आयोजना अन्तरगत संस्थामा मिल्क रिसिभिङ्ग एक थान, मिल्क अनलाइन फिल्टर एक थान, मिल्क पम्प ५ थान, मिल्क पाश्चाराइजर, अनलाइन क्रिम सेप्रेटर, मिल्क होमोराइजेसन, मिल्क प्याकेजिङ, कोल्ड स्टोर, डि फ्रिज, आइक्रिम फिजर लगायत विभिन्न मेसिनरी सामाग्रीहरु थपिएको अध्यक्ष दहालले बताए । उद्योगको सफल संचालन पश्चात् किसानले उत्पादन गरेको दुध विभिन्न कारण मिल्क होलिडेका कारण फाल्न नपर्ने र हाल किसानले प्राप्त गरिरहेको मुल्यमा समेत केही थप गरि दिन सकिने बताइएको छ ।
कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरे, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका इन्जिनियर राजेश योन्जन, प्राविधिक अविरल गौतम, खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख डा. क्षितिज श्रेष्ठ, जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष अर्जुनप्रसाद देवकोटा, संघका व्यस्थापक कुमारमणी दाहाल, संस्थाका पूर्व अध्यक्ष अनिरुद्र दाहाल, कृष्णप्रसाद पोखरेल, श्रमिक साना किसान कृषि सहकारीका अध्यक्ष निर्मला लम्साल, हिमाल बहुउद्देश्यीय सहकारीका अध्यक्ष जानकी दाहाल, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।