धनगढी : सुदूरपश्चिममा नयाँ प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेसँगै नेताहरू सक्रिय बनेका छन्। प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि पुस २७ गतेभित्र दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका थिए। त्यसपछि सत्तारुढ दलका नेताहरूले दौडधुप बढाएका हुन्।सरकारको नेतृत्व हत्याउन लागिपरेका नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले दौडधुप बढाएका हुन्। उनीहरूका प्रदेशस्तरका शीर्ष नेताहरू नेतृत्वको माग गर्दै सरकार बनाउन लबिङका लागि संघीय राजधानी काठमाडौँतर्फ हानिएका छन्।
आज (बिहीवार) मात्रै नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका संसदीय दलका नेता खगराज भट्टले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेट गरेका छन्। माओवादी सुदूरपश्चिमका इन्चार्जसमेत रहेका भट्टसँगै माओवादी प्रदेश अध्यक्ष हरि चौधरी (उत्सव) र सांसद ओमविक्रम भाट (सरल) पनि भेटमा सहभागी थिए। भट्ट मुख्यमन्त्रीका दाबेदार पनि हुन्।
उनीहरूले बालुवाटारमामा भएको भेटमा सुदूरपश्चिम सरकारको गठन र नेतृत्वबारे छलफल गरेका थिए। नेकपा एमाले नेतृत्वको गठनबन्धनमा सबैभन्दा ठूलो दलको हैसियतले माओवादीले यहाँको मुख्यमन्त्री दाबी गरिरहेको छ।प्रधानमन्त्री दाहालसँग सुदूरपश्चिम प्रदेश सरकार गठन र प्रदेशको पछिल्लो परिस्थितिका विषयमा छलफल भएको माओवादीका प्रदेश अध्यक्ष हरि चौधरी (उत्सव)ले जानकारी दिए।
प्रचण्डले प्रदेशको नेतृत्व लिन शीर्ष तहमा सहमति जुटाउने पनि बताएको उनको भनाइ छ।
एमाले नेता बालकोटतिर
माओवादीसँगै प्रदेश सरकारको नेतृत्वमा एमालेले दाबी गरिरहेको छ। यसअघि एमालेको समर्थनमा माओवादीले पाँच वर्ष सरकार चलाएको भन्दै अहिले माओवादीको समर्थनमा एमालेले सरकारको नेतृत्व पाउनुपर्ने एमाले नेताहरूको तर्क छ।
सोही विषयसहित सरकारको नेतृत्वबारे छलफलका लागि नेताहरू आज साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुग्दै छन्।